गतवर्षका बाढी पीडितलाई राहत वितरण

काठमाडौं । प्रदेश सरकारले कैलालीको भजनी नगरपालिकाका बाढी पीडित किसानहरूलाई राहत वितरण सुरु गरेको छ । गत कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका बाढी पीडित किसानलाई राहत वितरण थालिएको हो । किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिकाले जनाएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ रुपैयाँ प्रति कट्ठा रकम वितरण थालिएको हो । एक किसानलाई ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । राहतको लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट २ करोड ९२ लाख बजेट पुगेको छ । किसानलाई पायक पर्ने बैंकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको नगरपलिकाले जनाएको छ । नगरपालिकाले अहिलेसम्म १ करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाई सक्ने गरी काम गरिरहेको छ ।
यस्तै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ। टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको जनाइएको छ ।