क्यान्सरको उपचार हुन्छ
काठमाडौं, २ फाल्गुन । महिलाका विभिन्न अंगमा हुने क्यान्सरबारे व्यापक जनचेतना फैलाउन सकिए र सुरुकै अवस्थामा रोगको उपचार गर्न सके क्यान्सर निको हुने चिकित्सकहरुले बताएका छन् । ‘फेडेरेसन अफ विजनेश एण्ड प्रोफेसनल विमन नेपाल’ ले राजधानीमा गरेको कार्यक्रममा भारतका वरिष्ठ चिकित्सकहरुले किशोरी अवस्थादेखि नै शरीरका विभिन्न अंगमा हुने क्यान्सरप्रति सजग र सचेत रहँदै बेला–बेला चेकजाँच गर्न महिलाहरुलाई सुझाव दिए ।
भारतको वी एल के क्यान्सर सेन्टरकी प्रमुख डा. रमा जोशीले महिलाहरुको पाठेघर र स्तनमा हुने क्यान्सरको सुरुको अवस्थामा लक्षण नदेखिन सक्ने भन्दै समस्या नै नभएपनि बेलाबेलामा चेकजाँच गराउन सुझाव दिइन् ।क्यान्सर लागेपछि बेलैमा यसको रोकथाम गर्न सके निको हुने र त्यसका लागि महिला स्वयं आफ्नो स्वास्थ्यप्रति सजग र सचेत बन्नुपर्ने उनको सुझाव छ ।
सोही केन्द्रका चिकित्सक डा. सिद्धार्थ सहनीले महिलाहरुले महिनावारीपछि आफ्नो स्तन आफैंले जाँच्न सक्ने र स्तनमा गाँठागुँठी भेटिए तत्काल चिकित्सककहाँ जानुपर्ने बताए ।पछिल्ला वर्षमा विश्वमा महिलामा हुने विभिन्न खाले क्यान्सरले भयावह रुप लिएको भन्दै उनीहरुले त्यसका लागि बेलैमा स्वास्थ्यप्रति महिला स्वयं सजग बन्नुपर्ने बताए ।कार्यक्रममा फेडेरेसन अफ विजनेस एण्ड प्रोफेसनल विमेन नेपालकी सभापति अम्बिका श्रेष्ठले नेपाल जस्तो विकसोन्मुख मुलुकमा महिलामा हुने क्यान्सरले अझै भयावह रुप लिनसक्ने भन्दै त्यसको नियन्त्रणका लागि साझा प्रयास, अठोट र जनचेतना आवश्यक रहेको बताइन् ।हरेक वर्षको फेब्रुअरी महिनालाई विश्व महिला क्यान्सर महिनाको रुपमा मनाउने सन्दर्भमा यो कार्यक्रम गरिएको हो । कार्यक्रममा क्यान्सर लागेर निको भएका र उपचार गराइरहेकाहरुले आफूले भोगेको पीडा र बेलैमा उपचार गर्दा क्यान्सर निको भएको अनुभव आदान–प्रदान गरेका थिए ।