वेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
काठमाडौं, ५ फाल्गुन  । झण्डै २० घण्टादेखि हराइरहेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिनेलेकमा देखिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट झण्डै ४ हजार ३ सय मिटर उचाईको उक्त क्षेत्रमा देखिएको बताइएको छ ।पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखांचीको मसिनालेकमा दुर्घट्नाग्रस्त अबस्थामा फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार केन्द्रले जनाएको छ । चालक दलका तीन सदस्य र १५ यात्रु गरी १८ जना सवार थिए । केन्द्रले दुर्घटनास्थल पहिचान भईसकेको र त्यसको विस्तृत विवरण केही समयमा जारी गरिने जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आकस्मिक बैठक आज विहान बसी विमान उद्धार कार्य तीब्र पार्ने बारेमा छलफल गरेको थियो । सो विमान हिजो दिउँसो सवा १ बजेपछि सम्पर्क विहिन भएको थियो । अर्घाखाँचीको खिदिम र ढिकुरे क्षेत्रमा विमान दुर्घटना भएको अनसमान गर्दै खोजी तीब्र पारिएको थियो ।
हिजो विहान काठमाडौंबाट पोखरा गई त्यहाँबाट दिउँसो १२ बजेर ४० मिनेट जाँदा जुम्लातर्पm उडेको नाइन एन एबीबी ट्विनअर्टर विमान १ बजेर १३ मिनेटदेखि सम्पर्कविहिन भएको हो । बाँकेको थारा भन्ने स्थानमाथिबाट अन्तिम पटक विमानले भैरहवा टावरसंग सम्पर्क गरेको जनाइएको छ । विमानको चालकमा क्याप्टेन शंकर श्रेष्ठ, सहचालक रविन्द्र बञ्जारा र परिचारिका मुना महर्जन रहेका छन् ।
विमानमा रहेका यात्रुहरुमा नेपाली कांग्रेस जुम्लाका सभापति मानव सेजवाल, पत्रकार महासंघकी पूर्व केन्द्रिय सदस्य गौरी कठायत, कृषि विकास बैँक जुम्लाका प्रबन्धक राजेन्द्र देवकोटा, जुम्लास्थित नेपाली सेनाको २४ नंबर बाहिनीका मेजर दीपक श्रेष्ठ रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । त्यसैगरी, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. विकल्प पोखरेल, स्टाफ नर्स वर्र्षा हमाल न्यौपाने र उनको तीन बर्षिय छोरा यथेस, जिल्ला हुलाक कार्यालय जुम्लाकी निमित्त कार्यालय प्रमुख उमा तामाङ पनि विमानमा रहेका थिए ।
यस्तै, प्रधानाध्यापक राजेन्द्रप्रसाद चौलागाई, शिक्षक टेकबहादुर महतारा र उनकी श्रीमती नन्दा महतारा, स्थानीय वासिन्दा डी महतारा, बीपी उपाध्याय, दिपेश शाही र डेनिस नागरिक एम म्याथिसेन पनि विमानमा रहेको पनि निगमले जनाएको छ । हराएको विमान ४० बर्ष अघि नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको समयमा विरटानगरबाट अपहरण गरेको विमान भएको पत्ता लागेको छ । त्यतिखेर पाईलट के आर मानन्धरले उडाएको सो विमानलाई कांग्रेसले अपहरण गरी भारतको फारविसगंज लगेको थियो ।                                                                                                                             

 
                 
                             
                             
                         
                        