सभाध्यक्षको निर्वाचन हुदै
काठमाडौं ,६ फागुन । संविधानसभा अध्यक्ष चयनका लागि आज निर्वाचन हुने भएको छ । संविधासभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार आज साँझ ५ बजे सभाध्यक्षको चयन हुनेछ । बिहान १० बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि सचिवालयले समय तोकेको छ भने दिउँसो साढे २ बजे उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।संविधानसभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार राजनीतिक सहमतिका आधारमा सोमबार कुनै उम्मेद्वारी नपरेपछि आज बहुमतीय प्रक्रियाबाट सभाध्यक्ष चयनका लागि निर्वाचन हुनेछ ।
संविधानसभा सचिवालयले सहमतिमा सभाध्यक्षको नाम प्रस्तुत गर्नका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो । उक्त समय भित्र सहमतिका आधारमा कसैको पनि नाम प्रस्ताव नआएकाले सभाध्यक्ष चयनको प्रक्रिया बहुमतीय प्रणालीमा पुगेको हो । सोमबार निर्धारित समयभित्र कसैको पनि उम्मेद्वारी नपरेको सचिवालयले जनाएको छ ।
सहमति कायम गर्न एमालेको आह्वानमा सोमबार बसेको सर्वदलीय बैठकमा एमाओवादीले सभाध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन् ।एमालेले पूर्व सभामुख सुभावचन्द्र नेम्बाङलाई नै सभामुख बनाउन प्रस्ताव गरेको छ । सोही प्रस्तावलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सात बुँदे सहमतिका आधारमा नेम्बाङलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।