सरकार ३ बुँदे सहमतिप्रति गम्भीर नभए चरणबद्ध सङ्घर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले सरकार ३ बुँदे सहमतिप्रति गम्भीर नभए पार्टी चरणबद्ध सङ्घर्षमा जाने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा मंगलबार प्रज्ञाभवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विषमले सो चेतावनी दिएका हुन् । उनले सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरि ३ बुँदे सहमति गरेको १८ महिना पुग्दा पनि कार्यन्वयनको “क” सम्म नगरेर उल्टै षड्यन्त्र गर्न थालेको धारणा राख्दै पार्टीका जेलबन्दी नेता तथा कार्यकर्ता रिहाई नगरेकोमा आक्रोशसमेत व्यक्त गरेका थिए ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुतीले नेपालका क्रान्तिकारी पार्टीका नेतृत्वहरू विषय र आवश्यकता भन्दा पनि व्यक्तिगत महत्वाकाँक्षी भएका कारण धेरै राजनैतिक पसलहरू खुलेका कारण पनि आन्दोलन पछि परेको ठोकुवा गरे । उनले कम्युनिष्टहरू राष्ट्रिय स्वाधिनताका लागि मात्र जस्तो देखिएकोले अब जनताको जनजीविकासँग जोडिएर उपभोग्य महङ्गीका बारेमा पनि मुद्दा उठाउन जरूरी भएको औँल्याए ।
यसैगरी, उक्त पत्रकार सम्मेलनमा संयुक्त विज्ञप्ती वाचन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अब नेपालमा भएका विदेश हस्तक्षेप र सत्तामा रहेका सत्ताधारीहरूको आत्मसमर्पणले नेपाली जनताको स्वाधिनता र सार्वभौमसकता संकटमा परेकोले सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने बताए । उनले अघिल्ला समयमा सहकार्य गर्दै आएको मोहन वैध्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) पछि हटेकोमा चिन्तासमेत जनाएका थिए भने मा नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्मजित बुढाथोकी “सुशील” ले कार्यक्रम सञ्चालन गर्दै नेपालमा भएका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरूको पार्टी एकता गरेरै राष्ट्रिय सङ्कटको समाधानको लागि एक भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
उक्त पत्रकार सम्मेलनमा राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको विषयमा नेपालका चार क्रान्तिकारी कम्युनिष्ट पार्टीले संयुक्त सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन । घोषित संघर्षका कार्यक्रम अन्तर्गत साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरकृया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेका छन् ।