इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने

काठमाडौँ। इजरायलका राजदुत खनान गोदेरले थप एक हजार जना नेपाली श्रमिक इजरायल लैजाने जानकारी गराएका छन । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा राजदुत गोदेरले सो जानकारी गराएका हुन्। मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको मन्त्री कुँवरकी प्रेस संयोजक रमा खड्काले जानकारी दिइन्।
इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषी क्षेत्रमा लैजाने निर्णय आइतबार गरेको राजदुत गोदेरले बताए। यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएका थिए। एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्।
भेटमा मन्त्री कुँवरले इजरायल सरकारको सहयोगप्रति गोदेरलाई धन्यवाद दिँदै आगामि दिनमा नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे।
विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकिकरण कार्यक्रम पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि राजदूतमार्फत आग्रह गरेका छन्। त्यस्तै उनले अहिले थुप्रै नेपालीले इजरायल जान चाहेकाले छिटो जाने वातावरण बनाउन राजदुत गोदेरलाई अनुरोध गरेका छन्।