आज ओल्के पर्व : सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

२०७९ भाद्र १ गते, बुधबार


काठमाडौं । आज भदौ १ गते, ओल्के सङ्क्रान्ति ।  सुदूरपश्चिम प्रदेश सरकारले ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेशभर सार्वजनिक विदा दिएको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ । विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ ।
आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ ।

यसैगरी, ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै मिलेर रूखका हाङ्गाबिङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ । यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ । भगवान् कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतना राक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको शवलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्रा–टुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु