आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने !

काठमाडौं । नेपाल आयल निगम भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि मूल्य नघटाउने बताएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगमले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।
तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नघटाउने निर्णय निगमले गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा निगम अझै पनि घाटामा रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जानकारी दिएको हो ।
निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पछिल्लो ३ पटक मूल्य घटेर आए पनि पुरानो घाटा कम गर्न मूल्य नघटाएको बताए । उनले हाल निगमको कूल घाटा साढे ६२ अर्ब रुपैयाँ पुगेको जानकारी दिए । उनले भने – ‘सरकारले कर छुट कटौती गरेको अवधिमा निगमलाई १० अर्ब घाटा भयो, हाल हामीले २३ अर्ब रकम बक्यौता तिर्न बाँकी छ । ’
पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमको घाटा भने झनै चुलिने भएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा छ । यसअनुसार निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ । यस्तै, नेपाल सरकारले टेकुको जग्गा धितो राखेर दिएको ऋणको किस्तासमेत बुझाउनुपर्दा निगमको मासिक घाटा ७५ करोड रुपैयाँ पुग्ने देखिएको छ ।