नेपाल बन्दको मौका छोपी बिमा रकम कुम्ल्याउन आफ्नै टिप्परमा आगजनी !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको मौका छोपी बिमा रकम कुम्ल्याउन टिप्पर चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् ।
उनीहरुले दाङस्थित घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको छ । प्रहरीले गाडी मालिकको खोजी भइरहेको जनाएको छ ।