कर्मचारी तथा शिक्षकलाई पार्टी सदस्यता त्याग्न कामपाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगर अन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन । उनले अटेर गर्ने कर्मचारी र शिक्षकहरूलाईलाई निलम्बन तथा कारबाही गर्ने चेतावनीसमेत दिएका छन । उनले सुशासन प्रवर्द्धन गर्न महानगर अन्तर्गतका शिक्षक र कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत नहुने भन्दै महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय सदस्यता नदिन वा दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई समेत आग्रह गरेका छन ।
उनले दलीय आबद्धता त्याग नगरे सार्वजनिक उजुरी आह्वान गर्ने र उजुरी प्रमाणित भए निलम्बन र कारबाही हुनसक्ने चेतावनी दिएका छन । उच्च अदालत पाटनबाट गत जेठ ४ मा परमादेश जारी भएपछि महानगरपालिकाले यस्तो आदेश जारी गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।
