रुसद्वारा युक्रेनको रेलवे स्टेशनमा रकेट आक्रमण

काठमाडौं । रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ । यस्तै, आक्रमणबाट ५० जना घाइते भएका छन् । युक्रेनको स्वतन्त्रता दिवस र युक्रेनमाथि आक्रमणको ६ महिना पुगेको दिन रुसी सेनाले दिप्रोपत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट प्रहार गरेको हो । मृत्यु हुनेहरूमा ११ वर्षीय बालक समेत रहेको जनाइएको छ । पाँच जनाको घटनास्थलमै जलेर मृत्यु भएको र अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी रकेट प्रहारबाट रेलका पाँच वटा डिब्बामा आगो लागेको र हताहती हुनेको संख्या बढ्न सक्ने बताए । आफूले राष्ट्रसंघीय सुरक्षा परिषद बैठकलाई सम्बोधन गर्ने तयारी गरिरहेको बेला रुसले रकेट हमला गरेको पनि बताए ।