बर्तमान राजनैतिक संकटको निकास बैज्ञानिक समाजवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणवीरले दलाल संसदीय पूँजीवाद अहिलेको राजनैतिक निकासको प्रमुख समस्या भएको भन्दै संकटको निकास वैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । नेकपा कालिकोटको चौथों जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता रणवीरले वैज्ञानिक समाजवादमात्र दलाल पूँजीवादको विकल्प भएको ठोकुवा गरेका हुन् । उनले सरकारले तीन वुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको भन्दै यदि तीन वुँदे कार्यान्वयन नगरे त्यसले उत्पन्न गर्ने परिणामको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिए।
कार्यक्रममा नेता रणवीरले विगतमा कालिकोट वर्गसंघर्षको केन्द्र विन्दु भएको र अहिले पनि बर्ग संघर्षको केन्द्र विन्दुमै पर्ने भएको भन्दै एकीकृत जनक्रान्तिमा फेरी पनि कालिकोटे जनताको ठुलो योगदान आवश्यक भएको बताए ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट /जुम्ला जिल्ला इन्चार्ज विराटले वैज्ञानिक समाजवाद नै अहिलेको संसदीय व्यवस्थाको संकटको निकास भएको बताए । उनले तीन वुँदे कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका थिए ।
यसैगरी, उक्त कार्यक्रममा नेकपाका विशेष समिति सदस्य हिमशिखर,सहिद परिवारबाट राधिका शाही, जनपत्रिका ड्टकमका व्यवस्थापक धनराज शाहीलगायतले शुभकामना दिएका थिए ।
जिल्लाको ९ वटा पालिका वाट जनता, प्रतिनिधि, पर्यवेक्षकहरु नारा जुलुस सहित उद्घाटन सत्रमा सहभागी भएका छन । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न साँस्कृति प्रस्तुतिहरु समेत प्रस्तुत गरिएका थिए ।
जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा उद्घाटन भएको सम्मेलनको स्वागत मन्तव्य धरातलले दिएका थिए भने भने संचालन शाहसीले गरेका थिए ।
“राष्ट्रियता,आत्मसमर्पणवाद, दलाल संसदीय पूँजीवाद र सामाजिक फासिवाद विरुद्धको हाम्रो अभियान ,राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथों जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ जिल्ला सम्मेलनको उद्घाटन भएको थियो ।