संसद दलालहरूको अखडा !

२०७९ भाद्र १७ गते, शुक्रबार


काठमाण्डौं । बरिष्ठ अधिबक्ता एकराज भण्डारीले संसद दललाहरूको अखडा भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, काठमाण्डौं जिल्लाको १२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले सो ठोकुवा गरेका हुन् । उनले जनताको नीति तथा कानुन बनाउने जनताको सर्बोपरी संस्था संसदलाई साम्राज्यवादीहरूको दलाली गर्ने स्थल भएको बताउदै जनताको बास्तबिक प्रतिनीधिहरूले जनाधिकार र जनहित बिपरित कुनै पनि काम गर्न नसक्ने औंल्याए । उनले भने, ‘संसद यस्तो दलाली स्थल भयो, त्यहाँभित्र छिरेपछि, काँग्रेसहरू कम्युनिस्ट नामका पार्टी र कम्युनिस्ट नामका पार्टीहरू काँग्रेस बन्छन् । संबिधानको ब्यबस्था राम्रो भएपनि कार्यान्वयन गर्ने पात्र दलालको प्रतिनिधि भयो ।’

अधिबक्ता भण्डारीले, बिश्व कम्युनिस्ट आन्दोलनको उदाहरण रहेको जनयुद्धको मूलभूत सैद्धान्तिक मान्यताबाट नेतृत्व बिचलन भएको कारण नेपाली कम्युनिस्ट आन्दोलन सेटब्याक हुन पुगेको बताए । उनले भने, ‘बिश्व कम्युनिस्ट आन्दोलनको उदाहरण जनयुद्ध थियो । जनयुद्धको मूलभूत सैद्धान्तिक मान्यताबाट नेतृत्व बिचलन नभएको भए, अहिले यो अबस्थामा पार्टी हुँदैनथ्यो । सत्ताबाहेक अरु सबै भ्रम हो भन्ने मान्यताबाट नेतृत्व पछि हट्यो । सरकारबाहेक सबै भ्रम हो भन्ने मान्यतामा केन्द्रित भएपछि जनयुद्धले सेटब्याक खायो ।’
उनले हालको संसदवादी पार्टी र नेताहरूभन्दा कयौं गुणा बीपी कोईराला राष्ट्रवादी भएकोसमेत बताए ।
त्यस्तै, जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै, नेकपा केन्द्रीय सदस्य तथा काठमाण्डौं जिल्ला इन्चार्ज माईला लामाले, एकिकृत जनक्रान्तिको माध्यमबाट जनवादी राज्यसत्ता निर्माण कुनै पनि मुल्यमा सफल बनाउनुपर्ने बताए । उनले भने, ‘कम्युनिस्टहरू कम्युनिस्ट चरित्रको हुनुपर्छ । कम्युनिस्टहरू धोकेबाज हुनु हँदैन । क्रान्तिलाई कुनै पनि मुल्यमा सफल बनाउनु पर्छ । त्यो हाम्रो अभिभारा हो ।’
नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज आस्थाले, बिश्व बहुध्रुबमा ध्रुबिकृत भएको कारण अमेरिकी साम्राज्यवादको अन्त्य भएको दाबि गरे । अमेरिका पश्चिमा र युरोपपछि एसियामा युद्ध चाहेको बताए । उनले भने, ‘बिश्व बहुध्रुबमा ध्रुबिकृत हुनु भनेको क्रान्तिकारीहरूको लागि अबसर हो । अमेरिका पश्चिम र युरोपपछि एसियामा युद्ध थोपर्ने दाउमा लागेको छ । नेपाली भूमिलाई प्रयोग गरेर चीनलाई घेराबन्दी गर्ने र नेपाललाई युद्धमैदान बनाउने दाउपेच कसेको छ ।’
उनले क्रान्तिलाई बिज्ञान र प्रबिधिसँग जोडेर संभावनाको ध्रुबबाट हेर्न जरुर भएको औंल्याईन । उनले भनिन , ‘क्रान्तिलाई बर्तमान अवस्थामा बिज्ञान र प्रबिधीसँग जोडेर लानुपर्छ । त्यसले क्रान्तिको अभिभारा पूरा गर्न सकिन्छ । क्रान्तिलाई सम्भावनाको बहुध्रुबबाट हेर्न सक्नुपर्छ ।’ उनले, अमेरिकी साम्राज्यवादले नेपाललाई युद्धस्थल बनाउने रणनीतिबाट अहिले एमसीसी र एसपीपीलगायत बिभिन्न परियोजना मार्फत कार्ययोजनाहरूबाट हस्तक्षेपकारी भूमिकामा नेपालमा युद्ध थोपर्ने प्रयास गरिरहेकोसमेत दावी गरिन ।
नेकपा केन्द्रीय स्कुलिङ बिभाग सदस्य बीपिन, नेवा मुक्तिमोर्चा अध्यक्ष सुरेन्द्र महर्जन, अखिल नेपाल जनसाँस्कृतिक महासंघ महासचिब कुशल, मगरात मुक्तिमोर्चा अध्यक्ष सुदर्शन मंगोल, जनपत्रकार संगठन नेपालका महासचिब आलोक माबोहाङ लिम्बू, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महासचिब राजकुमारी साही, युवा संगठन नेपालका महासचिब बिदुसीलगायले काठमाण्डौं जिल्ला सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]