कम्युनिष्टहरुको एकता अपरिहार्य

२०७९ भाद्र १९ गते, आईतवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज आधारले वर्तमान अवस्थामा नेपालको कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता आधारले पहिला माओवादीहरुको एकता त्यसपछि सम्पूर्ण कम्युनिष्ट पार्टीहरुको एकताले मात्र २१ शताब्दीको मानव अस्तित्वको रक्षा गर्न सकिने बताउदै अमेरिका र चीनबिचको द्वन्द्वको कारण नेपाल संकटमा रहेको तर्क गरे । उनले भने- `चीन हाम्राे असली मित्र हो भने अमेरिका दुश्मन हो, त्यसैले चीन कम्युनिष्ट एकता चाहन्छ भने अमेरिका काङ्ग्रेसलाई काखी च्यापेर नेपालको स्वाधिनतामाथि हस्तक्षेप बढाउन चाहन्छ । त्यसैले स्वाधिनताको लागि कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको छ ।´
त्यस्तै उनले सिन्धुपाल्चोकले २०२८ सालमा बाह्रविसेका किसानहरुले गरेको ७ दिनसम्मको भोक हड्ताल, २०३६ सालको सत्याग्रह, २०३७ सालको जनमतसङ्ग्रह, २०४० सालको पञ्चायतविरोधी पिस्करमा भएको सांस्कृतिक कार्यक्रममा भएको काण्ड र १० वर्षे जनयुद्धमा खेलेको भूमिकाको सन्दर्भमा खुलेर प्रशंसा गरेका थिए ।
राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, बढ्दो महंगीको कारण सरकारसँग नेपालका नागरिकहरु आजित रहेको आरोप लगाए । उनलेे तीन बुँदे सम्झौता विपरीत पार्टीको शिर्ष नेतृत्वहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको पक्राउ पुर्जी च्यातिनुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता आशनको क्रममा जिल्ला सचिव युगीनले नेपालको वैकल्पीक शक्तिको रुपमा आफ्नो पार्टीको उदय भएको जिकिर गरे । जिल्ला सचिव युगीनले सरकारले इमानदारीपूर्वक तीन बुँदे कार्यन्वयन गर्नुपर्ने अवस्थामा उल्टै पार्टीको मुख्य नेतृत्वमा झुट्टा मुद्दा लगाइ सहमति विपरीत वारेन्ट जारी गर्नु भनेको नेपाली जनतालाई धोका दिई फेरि देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको तर्क गरे । कार्यक्रममा विशेष सदस्य किरण, जेष्ठ कम्युनिष्ट बशिष्ठ बद्री शहीद परिवार निर बहादुर तामाङ, अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य पवित्रा विकको आतिथ्यता र जिल्ला भरका प्रतिनीधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।
सम्मेलन उद्घाटनको प्रारम्भमा राता पोषाकमा चौतारा बजार परिक्रमा गरेका थिए । कार्यक्रमको उद्घोषण जिल्ला सदस्य कम्युटरले गरेका थिए ।
सम्मेलनले सचिव युगीनको नेतृत्वमा २१ सदस्य जिल्ला समिति सर्वसहमत निर्वाचित गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]