देशैभरी डेङ्गुको प्रकोप : ४ हजार भन्दा बढी संक्रमित

काठमाडौं । इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ गतेसम्मको तथ्यांकअनुसार गएको पुसदेखि हालसम्म ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको छ । संक्रमणका कारण एक जनाको मृत्यु भएकोे महाशाखाले जनाएको छ । डेंगुको संक्रमण बढेसँगै पछिल्लो समय अस्पतालहरुमा बिरामीको चाप पनि बढ्न थालेको छ । हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा यसको संक्रमण देखिएको छ । हाल दैनिक १७० जनाभन्दा बढी यसको लक्षण देखिएका बिरामी अस्पताल पुग्ने गरेका छन् ।
दैनिक ३०० बिरामीहरु डेंगु परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्ने गरेका छन् । सबैभन्दा बढी डेंगुको संक्रमण वाग्मती प्रदेशमा पुष्टि भएको छ । त्यसपछि संक्रमणको संख्याका आधारमा क्रमशः लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, गण्डकी, मधेश, सुदुर पश्चिम र कर्णाली प्रदेश रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्ने र शरीर गल्ने जस्ता लक्षण लिएर विरामी आउने गरेको अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
‘एडिस’प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलने विशेषज्ञले बताएका छन् । पोथी लामखुट्टेको टोकाइबाट यो संक्रमण हुन्छ । यदि टोक्ने लामखुट्टेले संक्रमण सारेको भए टोकाइको ५ देखि ७ दिनमा यसको लक्षण देखा पर्न थाल्दछ । विशेषतः वर्षायाममा देखिने संक्रमण तीव्र रुपमा फैलिरहेको हुनाले यसको नियन्त्रण हुन अझै दुई महिना लाग्ने डा. पुनले बताए । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो ।
वि.सं. २०६३, २०६७, २०७०, २०७३, २०७४ तथा २०७६ मा डेंगुका धेरै केसहरु पुष्टि भएका थिए । सबै भन्दा धेरै २०७६ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो । ६८ जिल्लामा फैलिएको डेंगुबाट ५ जनाको मृत्यु भएको थियो ।