हेपाटाइटिस बीका बिरामी बढ्दै
काठमाडौं, १८ फागुन । हेपाटाइटिस बीका बिरामीको संख्या दिनानु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । चेतनाको अभाव र लापरबाहीका कारण हेपाटाइटिस बीको परीक्षण नै नगर्ने प्रवित्ति रहेकाले यसको जोखिम बढ्दै गएको टेकु अस्पतालका डा शेरबहादुर पुनले बताए । विदेश जानेहरुका लागि परीक्षण अनिवार्य भएकाले विदेश जानेहरुले मात्र परीक्षण गराउने गरेको पाइएको छ ।
परीक्षणमा लागि अस्पताल पुग्ने धेरैजसोमै हेपाटाइटिस बी भएको पाइएको पुनले जानकारी दिए । हेपाटाइटिस बी लागेको रगत, उनीहरुले प्रयोग गरेका बिलेट, सूई र शारीरिक सम्पर्कबाट अरुमा यो रोग सर्छ । रोग लाग्ने बित्तिकै कुनै स्वास्थ्य समस्या नदेखिएपनि पछि गएर कलेजोको संक्रमण हुने खतरा धेरै हुने डाक्टर पुनले बताए । संक्रमण पछि क्यान्सरको सम्भावना धेरै हुने हुँदा सताकर्ता अपनाउन डा पुनले जोड दिए । हेपाटाइटिस बीको परीक्षण महँगो नभएकाले र एक पटक यस विरुद्धको खोप लगाएपछि फेरि पछि हुने सम्भावना नरहेकाले परीक्षण गर्न-गराउन डाक्टरको सल्लाह छ ।