फ्रान्समा मंहगीविरुद्ध प्रदर्शन

काठमाडौं । रुस–युक्रेन युद्धका कारण बाँकी दुनियाँजस्तै युरोप पनि मुद्रास्फीतिसँग लडिरहेको छ । त्यहाँ मुद्रास्फीति दर विगत ११ वर्षमा ८.९ प्रतिशतको उच्च स्तरमा छ । मुद्रास्फीतिबाट फ्रान्स सबैभन्दा बढी प्रभावित भएको बताइन्छ । फ्रान्समा तलब बढाउन माग गर्दै कर्मचारी सडकमा उत्रिएका छन् । उनीहरुको भनाइ अनुसार मुद्रास्फीतिका अहिलेको सामान्य तलबमा बाँच्न गाह्रो छ ।
यसअघि फ्रान्समा तेल कम्पनीका कर्मचारीले काम रोकेर तलब बढाउन माग गरेका थिए । अहिले देशमा इन्धनको अभाव छ । त्यसपछि लाखौंको संख्यामा सर्वसाधारण सडकमा उत्रिएका हुन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सार्वजनिक विरोधको सामना गर्नुपरेको छ । फ्रान्समा एक लाखभन्दा बढीले मुद्रास्फीतिविरुद्ध प्रदर्शन गरेका छन् । राजधानी पेरिसमा सबैभन्दा कडा प्रदर्शन देखियो । फ्रान्सका लगभग ३०% ग्यास स्टेशनहरू पेट्रोलको अभाव खेप्दैछन् ।
पेरिस र उत्तरी फ्रान्स पेट्रोलको अभावबाट सबैभन्दा बढी प्रभावित भएको स्थानीय सञ्चारमाध्यमहरूे जानकारी गराए । पेरिसमा भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले बैंकको झ्याल समेत तोडेका छन् । अक्टोबर १८, २०२२ मा पश्चिमी फ्रान्सको नान्टेसमा भएको हिंसात्मक प्रदर्शनको क्रममा एक व्यक्तिलाई ज्यान बचाउँदै गरेको देखियो । फ्रान्समा मुद्रास्फीति ६.२ प्रतिशत पुगेको छ, जुन सामान्यभन्दा दोब्बर हो । विगत केही दशकमा पहिलो पटक फ्रान्सेली जनताले यस्तो मूल्यवृद्धि देख्नु परेको हो ।
पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सो घटनामा ८ प्रहरी घाइते भए भने ११ जना प्रदर्शनकारी पक्राउ परेका छन् । मुद्रास्फीतिका कारण जीवनयापन गर्न गाह्रो भएको भन्दै आन्दोलनकारीले तलब बढाउनुपर्ने माग अगाडि सारेका हुन् । यातायात मन्त्री क्लेमेन्ट बोउइनले प्रदर्शनका कारण आधा रेलहरू रद्द गरिएको बताए । धेरै ठाउँमा बस सेवा पनि बन्द गर्नुपरेको छ ।
आन्दोलनमा तेल उत्पादनसँग सम्बन्धित कम्पनीका कर्मचारी ठूलो संख्यामा आएका छन् । जसकारण देशका धेरै ठाउँमा इन्धन पुग्न सकेको छैन । फ्रान्सबाहेक युरोजोनमा परेका १९ देशको अवस्था यस्तै छ । इस्टोनिया, पूर्वी युरोपको एक देश, २३ प्रतिशतको उच्चतम मुद्रास्फीति सामना गरिरहेको छ । यूरोजोनलाई आधिकारिक रूपमा यूरो क्षेत्र भनिन्छ । यो युरोपेली संघका १९ सदस्य राष्ट्रहरूको एक समूह हो, जसले युरोपेली संघको आर्थिक र मौद्रिक संघलाई पूर्ण रूपमा लागू गरेको छ । त्यहाँ यूरोलाई उनीहरूको प्राथमिक मुद्रा र एकमात्र कानूनी टेन्डरको रूपमा स्वीकार गरेको छ ।
कोभिडका कारण लामो समय लकडाउन गरियो । धेरै व्यवसायहरु ठप्प भए । जसका कारण धेरै देशको अर्थतन्त्र धरासायी भयो । रुस–युक्रेन युद्धका कारण तेल र ग्यासको आपूर्तिमा समस्या आएको छ । किनकि रुससँग तेल र ग्यासको ठूलो भण्डार छ । युद्धअघि रुसले युरोपका धेरै देशमा ग्यास र तेल पठाउँथ्यो ।