एमालेको महाधिवेशन जेठ २४देखि

२०७० फाल्गुन २२ गते, बिहीबार


काठमाडौं, २२ फागुन ।नेकपा एमालेले आगामी जेठ २४–३१ मा पार्टीको नवौं महाधिवेशन काठमाडौंमा गर्ने तय गरेको छ। हिजोको केन्द्रीय कमिटी बैठकले जेठ ३ बाट महाधिवेशन गर्ने यसअघिको निर्णय तीन साता सार्दै नयाँ मिति घोषणा गरेको हो।एमालेमा संसदीय दलका नेता केपी शर्मा ओली पक्ष जेठ ३ बाटै, अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तयारीका लागि मिति सार्नुपर्ने अडानमा थिए। खनाल–नेपाल पक्षले अझै पछि लैजानुपर्ने पक्षमा भए पनि मध्यमार्गी बाटो खोज्दै तीन साता मात्र सारिएको हो।
बैठकले महाधिवेशनको प्रक्रियासमेत अघि बढाएको छ। बैठकले महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज मस्यौदा कमिटीमा अध्यक्ष खनाल संयोजक, उपाध्यक्ष वामदेव गौतम सहसंयोजक र महासचिव र्ईश्वर पोख्रेल सचिव रहेको कमिटी बनाएको छ।
बैठकमा स्थायी कमिटीद्वारा प्रस्तुत पार्टीको नवौं महाधिवेशन आयोजना तथा तयारीसम्बन्धी प्रस्तावमा पनि छलफल भएको छ।
प्रस्तावमाथि बैठकमा व्यक्त विचार समेट्दै अद्यावधिक गरी स्थायी कमिटीमा प्रस्तुत गर्न महासचिव पोख्रेलको संयोजकत्वमा सचिवत्रय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल र शंकर पोख्रेल, पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्युरो वैकल्पिक सदस्य बेदुराम भुसाल र केन्द्रीय कमिटी सदस्यहरु भीम रावल, केशवलाल श्रेष्ठ र केन्द्रीय कमिटीका वैकल्पिक सदस्य गरिमा शाह रहेको कार्यदल पनि गठन गरेको छ।
कार्यदललाई पाँच दिनभित्र कार्ययोजना प्रस्ताव तयार गरी स्थायी कमिटीमा प्रस्तुत गर्न जिम्मेवारी तोकिएको छ। कार्यदलले पाँच दिनभित्र महाधिवेशनको समयतालिका तय गर्ने निर्णय भएको केन्द्रीय सदस्य योगेश भट्टराईले बताए। कार्यदल प्रस्तावमा छलफल गरी स्थायी कमिटीले निर्णय लिनेछ।
बैठकले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्यहरु नवौं राष्ट्रिय महाधिवेशन आयोजकका साथै प्रतिनिधि हुने प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानले केन्द्रीय कमिटी तथा केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरु आयोजकका हैसियतले महाधिवेशनमा सहभागी हुने, तर प्रतिनिधि हुन भने तोकिएको निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ।
नवौं राष्ट्रिय महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनीत गरी प्रतिनिधि संख्या अधिकतम एक हजार ८ सय हुने सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्यदलले यही संख्यालाई दृष्टिगत गरी महाधिवेशन प्रतिनिधि निर्वाचनसम्बन्धी अनुपात र अन्य आवश्यक प्रस्ताव प्रस्तुत गर्ने पनि बैठकले निर्णय गरेको छ।
आठौं महाधिवेशन भएको २०७० फागुन १५ गते पाँच वर्ष पूरा भए पनि लगत्तै महाधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ। ‘संविधानसभा निर्वाचन, २०७० मा केन्द्रित भएर लाग्नुपरेको र संविधानसभा निर्वाचन परिणाम प्रकाशित भइसकेपछि पनि राष्ट्रिय राजनीतिका ज्वलन्त विषय व्यवस्थापनमा पार्टीको मूल नेतृत्व केन्द्रित हुनुपरेकाले पाँच वर्ष पुग्नासाथ महाधिवेशन आयोजना गर्न सम्भव भएन,’ विज्ञप्तिमा छ। बैठकले पार्टी विधानबमोजिम २०७१ जेठमा महाधिवेशन मिति तय गरेको हो।
बैठकमा सरकार गठनका लागि एमाले र नेपाली कांग्रेसबीच भएको वार्ता र सहमतिबारे वार्ता कमिटीका संयोजक तथा उपाध्यक्ष गौतमले जानकारी गराएका थिए। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुबारे अध्यक्ष खनालले जानकारी गराएका थिए।
एमाले–कांग्रेस सातबुँदे सहमति र सरकारमा पठाएका मन्त्रीहरुका सम्बन्धमा स्थायी कमिटीले लिएका निर्णय बैठकले अनुमोदन गरेको छ। नवनियुक्त मन्त्रीहरुलाई बैठकले बधाई र शुभकामना दिएको छ।
केन्द्रीय कमिटी बैठकले तत्कालीन निरंकुश पञ्चायती सरकारद्वारा झापाको सुखानीमा २०२९ फागुन २१ गते निर्ममतापूर्वक हत्या गरिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठलगायतलाई सहिद घोषणा गर्न र राष्ट्रिय सम्मान प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु