नेकपा केन्द्रीय सल्लहाकार समितिको बैठक सम्पन्न , केन्द्रीय प्रतिनिधि समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको तयारीस्वरुप स्थायी कमिटीको बैठक कपिलवस्तुस्थित शिवगढीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको बताइएको छ । बुधबार अपरान्हदेखि सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपूर्वक लागू गरौं, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔं’ भन्ने दस्तावेज प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्तावमाथि स्थायी कमिटिका सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।
यसैगरी,आइतबार केन्द्रीय सल्लहाकार समितिको बैठक सम्पन्न भएको छ भने सोमबारवाट केन्द्रीय प्रतिनिधि समितिको बैठक सुरु भएको छ । र अर्को सातादेखि केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ ।

पार्टीको आसन्न केन्द्रीय समितिको बैठकमा चुनाव खारेज अभियान र चुनाबमा संसद्वादी दल र नेताहरुप्रति जनाताले देखाएको उदासीनतालगायत चुनावको परिणामले संसदीय व्यवस्थामा देखिएको संकट आमजनताले बुझ्ने गरी पर्दाफास भएको विषयमा गहन छलफल हुने बताइएको छ । संसदीय व्यवस्थामा आएको संकट नेपाल कम्युनिष्ट पार्टी एकीकृत जनक्रान्तिको नयाँ योजना र कार्यक्रमसहित कसरी नेतृत्व प्रदान गर्ने भन्ने विषयमा गहन छलफल हुने बुझिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पछिल्लो दिनमा देशमा बढिरहेको साम्राज्यवादी हस्तक्षेप र चलखेलका विषयमा समेत गम्भीर छलफल हुने बताइएको छ । यी सबै विषय हेर्दा नेपाल कम्युनिष्ट पार्टी नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको ऐतिहासिक र भव्य हुने देखिएको छ ।

स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको नवौँँ महाधिवेशन नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो । नवौँँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरि लुटेराको सट्टा अर्का लुटेराहरु अगाडि सार्ने, पुराना सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धहरु निर्माण गर्ने, श्रमिक जनतालाई पुँजीवादबाट पुँजीवादमै, चुनावबाट चुनावमै, संसद्बाट संसद्कै गोलचक्करमा घुमाउने अल्झाउने खेल भएको उल्लेख गर्दै देशमा संसदीय व्यवस्थाको दलालीकरण, बदनामी, टाटपल्टाई र असफल भएको ठोकुवा गरिएको थियो । यसैगरी, दलाल पुँजीवादी सत्ताको संसदीय व्यवस्थाको संघ र प्रदेशका चुनाव उपयोग, प्रयोग गर्नु उचित र सम्भव नभएको भन्दै जनतालाई राजनीतिक विचार, संघर्ष र प्रयोग सबैतिरबाट वैज्ञानिक समाजवादी सत्ताको विकल्प दिनुपर्ने उल्लेख गर्दै मंसिर ४ को संसदीय चुनावलाई सशक्त प्रकारले खारेज गरिने उल्लेख गरिएको थियो ।
यसैगरी, उक्त कार्यनीतिमा दलाल पुँजीवादको स्थापनासँगै गाउँदेखि सहरसम्म मिटरव्याजे (चक्रीय व्याजी) फटाहाहरु उमारेको र मिटरव्याजले हजारौं किसान तथा साना व्यवसायीलाई उठिबास लगाएको ठोकुवा गर्दै मिटरव्याजेविरुद्ध सशक्त संघर्ष गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीको नवौँँ महाधिवेशनद्वारा सर्वसम्मतरुपमा पारित कार्यनीतिमा भनिएको थियो– ‘नेपाली जनताको चाहना र स्वीकृतिविना लादिएको राष्ट्रघाती एमसीसी सम्झौता जबरजस्ती कार्यान्वयन गर्न खोजिँदैछ । नुवाकोट, पाल्पा, मकवानपुरलगायतका जिल्लामा सयौं रोपनी जमिन अधिकरण गरिँदै छ । एमसीसी सम्झौतासँग जोडेर एसपीपी सैन्य सम्झौता लाद्ने र साम्राज्यवादी युद्धको खेलमैदान बनाउने षड्यन्त्र चलिरहेको छ । महाधिवेशन उक्त राष्ट्रघाती सम्झौता खारेज गर्न माग गर्दछ ।’