अर्काको नाममा ट्रायल दिने र दिन लगाउने नियन्त्रणमा !

२०७९ माघ १९ गते, बिहीबार


काठमाडौँ । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई नियन्त्रणमा लिएको छ । दोलखाको गौरी शंकर नगरपालिका ५ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देव बहादुर श्रेष्ठ र दोलखा घर भइ हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई ट्राफिक प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहार सम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत ठिमीभक्तपुरले जनाएको छ । अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । यसका साथै अर्कै व्यक्तिले परिक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]