आज आज घोडेजात्रा
काठमाडौं, १६ चैत। चैत्र कृष्ण औंशीका दिन मनाइने घोडेजात्रा आज मनाइँदैछ । जनविश्वासअनुसार प्राचीन कालमा काठमाडौँको टुँडिखेलमा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा नामको राक्षसले सहरका बालबालिकालाई खाने गरेछ । आफ्ना बालबच्चा खानेगरे पछि पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई मारेछन् तर मारे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
घोडेजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । जात्राकै अवसरमा नेपाली सेनाले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष घोडाजात्राको विशेष कार्यक्रम आयोजना गर्दै आएकामा यस वर्ष पनि उक्त कार्यक्रम गर्ने तयारी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहने सो कार्यक्रममा घोडेजात्राका विभिन्न दृश्यहरू देखाइन्छ । जात्राको अवसरमा काठमाडौँका नेवार समुदायले घरघरमा आफन्तजन बोलाएर उत्सव मनाउने परम्परा समेत रही आएको छ ।
चैत्र कृष्ण औँशीका दिनमा टुँडिखेलका साथै पाटन बालकुमारीमा पनि एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको संस्कृतिविद् हरिराम जोशीले बताए । जोशीका अनुसार नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्राको क्रम १५औं वा १६औ शताव्दीदेखि मनाउन थालिएको हो भने पाटनको घोडेजात्रा १७ औं शताब्दिदेखि तत्कालिन राजा सिद्धिनरसिंह मल्लको पालादेखि मनाउन थालिएको हो ।