माओवादीको झापा जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं । नेकपा–माओवादीका सचिव देव गुरुङले गोलमेच सम्मेलन गरेमा सहमति र सहकार्य गरेर अगाडि जान सकिने बताएका छन् ।नेकपा–माओवादी झापा समितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सचिव गुरुङले सो कुरा बताएका हुन् ।सचिव गुरुङले पिछडिएका वर्ग, जाति, भाषा, सम्प्रदायको हकहीतका लागि वर्तमान संसदीय व्यवस्थाले बनाउने संविधानमा कुनै कुरा नआउने बताएका छन् । उनले अन्तरिम संविधान र वृहत् शान्ति सम्झौतालाई उल्टाउने कार्य भैरहेकाले त्यससम्बन्धी कुनै संझौता नहुने बताएका छन् । अहिलेको संसदीय प्रणालीबाट माओवादीले दशवर्षे जनयुद्धबाट उठाएका मागलाई संम्बोधन हुन त परै जाओस संसदीय दल भित्रकै मुद्दालाई पनि संबोधन गर्न नसक्ने उनले जिकिर गरे । नेपालको राष्ट्रिय अस्मिता बचाउने कार्यमा राजनीतिक दलहरुले आत्मसमर्पणवादको प्रवृत्तिलाई नत्यागेसम्म सम्भव नहुने उनको भनाई थियो । नेपालको सम्पूर्ण सम्झौता राजनीतिक कार्यहरु विदेशी चलखेलमा हुने भएकोले नेपालको राष्ट्रिय स्वाधिनताका मुद्दाहरु ओझेलमा पर्दै गएको उनले बताए ।
कार्यक्रममा एमाओवादीका अग्निले दुवै पक्षले आआफ्ना हठलाई त्यागेर पार्टी एकताको आवश्यकता भएको उद्घोष गरे । जनताको मुक्तिका लागि जनवादको नारा उराल्नलाई फूट नभइ जुटको खाँचो रहेकोमा उनले जोड दिए । कार्यक्रममा नेकपा एमालेका खोदनाथ चापागाई, नेपाली काँग्रेसका दयानन्द गोस्वामी, मञ्चसम्बद्ध संघीय लिम्बुवानका सीताराम राई, राप्रपा नेपालका केन्द्रीय सदस्य भक्ति सिटौला, कोचिला एकताका दिनेश राजवंशी, लिम्बुवान राज्य समितिका इञ्चार्ज मौषम, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्बाङ्गलगायतले शुभकामना मन्तव्य राखेका थियो ।