नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन माग

२०७९ चैत्र ३० गते, बिहीबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आज सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि सूचना जारी भएको १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डले गत असोज २ गते नै सूचना जारी गरेर आवेदन माग गरेकोमा अदालतको आदेश पनि प्रक्रिया स्थगन भएको थियो । सर्वोच्च अदालतले यस सम्बन्धि रिट खारेज गरे पछि बोर्डलाई फेरी आवेदन खुलाउने बाटो खुलेको हो । असोज २ गतेको सूचनामा उल्लेखित शर्त अनुसार नै आवेदन दिन बोर्डले आग्रह गरेको छ । बोर्डले जारी गरेको सूचनामा भनिएको छ ‘यस बोर्डको मिति २०७९।०६।०२ मा प्रकाशित सूचना बमोजिम धितोपत्र बजार संचालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि एवं वस्तु विनिमय बजार संचालन गर्न कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि निवेदन दिन इच्छुक संस्थालाई ४५ (पैत्तालिस) दिनको समयावधि सहित सूचना प्रकाशित गरिएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७९/०७/०४ मा जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरूप बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय भई मिति २०७९/०७/१५ मा सूचना प्रकाशन गरिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०७९।१२।२६ को रिट खारेजी भएको फैसला अनुसार यस सम्बन्धी प्रकृया अगाडि बढाउने बोर्डको निर्णयानुसार साविकको सूचना बमोजिम तोकिएको म्याद मध्ये बाँकी रहेको म्याद अनुसार यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । निवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सकिनेछ । यस सम्बन्धमा थप जानकारी बोर्डको वेवसाइटमा उपलब्ध भएको व्यहोरा जानकारी गराइन्छ ।’
बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर अद्लातको आदेशले प्रक्रिया स्थगन हुँदासम्म स्टक एक्सच्नेज र कमोडिटी एक्सचेन्जको लागि आवेदन परेको थिएँन। सोहि कारण स्टक एक्सच्नेज र कमोडिटी एक्सचेन्जको लागि अहिले फेरी आवेदन खुलेको हो । ब्रोकर लाईसेन्सको लागि भने ४६ कम्पनीले आवेदन दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु