नदीमा करेन्ट लगाएर माछा मार्ने पक्राउ

२०८० बैशाख ७ गते, बिहीबार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गाेरखाले नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले स्थानीय तहसँग समन्वय गरी गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराैँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उनले बताए । सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १ः३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनको भनाइ छ ।
उपरीक्षक लामिछानेले भने – ‘पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएकोे १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको छ ।’
नदीमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]