‘सिद्धान्तवाट च्यूत हुनु भनेको जनतालाई धोका दिनु हो’

काठमाडौं। जनयुद्धका बेपत्ता योद्धा विपिन भण्डारीका बुवा , वरिष्ठ अधिवक्ता तथा जन अधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले सिद्धान्तवाट च्युत हुनु भनेको जनतालाई धोका दिनु भएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बरिष्ठ अधिवक्ता भण्डारीले सो कुरा बताएका हुन् । उनले जनयुद्ध लडेर आएकाहरु सिंहदरबार पुगेर हराएकोमा दुःख लागेको बताउदै सहिद तथा बेपत्ता योद्धाहरुको उद्येश्य पूरा गर्न नसकेकोमा बाक्क दिक्क लागेको बताए ।
बरिष्ठ अधिवक्ता भण्डारीले २०७२ सालमा बनेको संविधानले जनताको अपेक्षा पूरा नगरेको भन्दै यसले दलालहरुको सेवा गरेको बताउदै भने – ‘पहिला राजाहरुले निमुखा, निहत्या जनताको निर्ममतापूर्वक हत्या गर्ने गरेको थियो । जनतामाथिको थिचोमिचो अन्त्य गर्ने उद्येश्यसाथ सुरु भएको जनयुद्ध लडेकाहरु सिंहदरबारमा पुगे । उनीहरुले बनाएको संविधान पनि उनीहरुको भएन । जनताको भएन । यो दलालहरुका संविधान भयो ।’
उनले सबै कम्युनिस्ट पार्टीहरु एक हुन आवश्कता औंल्याउँदै त्यो एकता जनताको लागि हुनपर्ने बताउदै भने- ‘हामी एकताको कुरा गछौं । एकता आवश्यक छ । तर त्यो एकता सिंहदरबार तिर फर्केर होइन, त्यो एकता जनताको पक्षमा, जनतातीर फर्केर एकता गराैँ। सिंहदरबारका लागि भएको एकता स्वार्थको एकता हो । त्यसले जनताका लागि केही पनि गर्न सक्दैन ।’
उनले जनयुद्धको मुख्य नेता टाउकाको मूल्य ताेक्नेसँग सहकार्य गरिरहेकोप्रति आपत्ती जनाउदै प्रश्न गरे ‘तपाईंले हामीले जनयुद्धको समयमा सिकाएर माक्सवाद यही हो र, तपाईं हामीले पढाएको सिद्धान्त यही हो ?’