मूल्यवृद्धिले सिमा नाघ्यो
काठमाडौं, १९ चैत्र । चालू आर्थिक वर्ष नेपालमा दक्षिण एसियाकै उच्च मूल्य वृद्धि हुने एसियाली विकास बैंक (एडीबी) ले बताएको छ । एसियन डेभलपमेन्ट आउटलुक नामक प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एडीबीले नेपालमा चालू आर्थिक वर्ष १० प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरेको हो । यो राष्ट्र बैंक र सरकार दुवै गरेको प्रक्षेपणभन्दा बढी हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्य वृद्धि ८ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष लिएको छ ।
एडीबीको प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकको औसत मूल्यवृद्धि ६ दशमलव ४ हुनेछ, जसको झन्डै दोब्बर नेपालमा मूल्यवृद्धि पुग्नेछ । यही अवधिमा भारतमा ६, पाकिस्तानमा ९, बंगलादेशमा ७ दशमलव ५ र श्रीलंकमा ५ प्रतिशतको मूल्य वृद्धि हुने अनुमान एडीबीको प्रतिवेदनमा छ ।
एडीबीले आफ्नो प्रतिवेदनमा समेटेको २० एसियाली मुलुकमध्ये चालू वर्षमा नेपाल दोस्रो धेरै मूल्य वृद्धि हुने मुलुक बन्नेछ । एडीबीको रिपोर्टअनुसार एसियाली मुलुकमध्ये सबैभन्दा बढी ११ दशमलव ५ प्रतिशतको मूल्यवृद्धि काजकिस्तानमा हुनेछ । त्यसपछि दोहोरो अंकको मूल्य वृद्धि हुने मुलुक नेपाल मात्र हो । एक वर्षपछि भने नेपालले मूल्य वृद्धिमा १९ वटै मुलुकलाई उछिन्ने अनुमान एडीबीको छ । २०१५ मा काजिकिस्तानमा ८ दशमलव ८ र नेपालमा ९ दशमलव ५ प्रतिशत मूल्य वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा मूल्य वृद्धिलाई इन्धनको मूल्य वृद्धि, ज्याला वृद्धि, डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने प्रवृत्तिलगायतले असर गर्ने एडीबीले उल्लेख गरेको छ । ‘भारतमा हुने उच्च मूल्य वृद्धि, ऊर्जा संकट र आपूर्ति पक्षका अवरोधले पनि असर गर्नेछ,’ प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा एसियाली विकास बैंकका कन्ट्री मेनेजर केनिची योकोयामाले भने । सरकारले बजेटमार्फत निजामती कर्मचारीको तलब र भत्तामा गरेको वृद्धि र त्यसअघिको वर्ष कामदारको न्यूनतम ज्यालामा गरिएको वृद्धिले मूल्य वृद्धिलाई चाप दिने अनुमान एडीबीको छ । आगामी वर्ष पनि भारतको मूल्य वृद्धि कम भए र मौदि्रक/वित्तीय नीतिमा सवाधानी अपनाइए मूल्य वृद्धि केही घटेर ९ दशमलव ५ प्रतिशत हुन सक्ने अनुमान उसको छ । वृद्धि नियन्त्रणमा राख्नु सरकारको प्रमुख चुनौती रहने एडीबीले बताएको छ ।
प्रमुख व्यापारिक साझेदार भारतको मूल्य वृद्धिका कारण नेपालमा पनि असर परिरहेको एडीबीले उल्लेख गरेको छ । सवारी साधनमा रहेको सिन्डिकेट र कृत्रिम मूल्य वृद्धिले पनि महँगीलाई सहयोग गरिररहेको उसले बताएको छ । यसका साथै अमेरिकी डलरको तुलनामा रुपैयाँ कमजोर हुँदा आयातित कच्चा पदार्थदेखि अर्धप्रशोधित वस्तुको मूल्य बढ्ने उल्लेख छ ।