नेमकिपाको महाधिवेशन चैत २१ देखि

२०७० चैत्र १९ गते, बुधबार

काठमाडौँ,१९ चैत्र ।नेपाल मजदुर किसान पार्टीले आफ्नो पार्टीको तत्कालीन उद्देश्य जनताको प्रजातन्त्र भएपनि समाजवाद हुँदै साम्यवादमा पुग्ने दीर्घकालीन उद्देश्य भएको जनाएको छ । सो पार्टीको छैटौं महाधिवेशनको पूर्व सन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेमकिपाको महाधिवेशन चैत २१ देखि २३ गतेसम्म काठमाडौँमा हुने जानकारी दिइयो ।
संविधानसभाबाट समाजवाद उन्मुख नयाँ संविधान निर्माण गर्न पार्टी निरन्तर लागि रहेको सो पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विधारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा पार्टीले अङ्गिकार गर्दै आएको जनाउँदै पार्टीले सन् १९५० को असमान सन्धिको खारेजी, निजीकरण गरिएका उद्योगहरुको पुनः सार्वजनिकीकरण, विदेशी एकाधिकार पुँजी र साम्राज्यवादको विरोधलाई महाधिवेशनमा मुख्य मुद्दा बनाइएको विज्ञप्तिमा उल्लिखित छ ।
कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले संसदीय व्यवस्था व्यवहारमा असफल भइसकेको हुँदा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र संसद सदस्य मन्त्री बन्न नपाइने बन्दोबस्त नेपालका लागि बढी व्यवहारिक हुने बताए ।पार्टीको बन्दसत्रमा ५० जिल्लाका ३५० प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिने तथा उनीहरुले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।-रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु