साउदीले सुडानबाट १२ मित्र राष्ट्रका ६६ नागरिकलाई बाहिर निकाल्यो

काठमाडौं । साउदी अरबको विदेश मन्त्रालयले सुडानमा सेना र अर्धसैनिक बलबीचको हिंसापछि आफ्ना र १२ मित्र राष्ट्रका धेरै नागरिकलाई सुडानबाट निकालिएको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सुडानबाट निकालिएका व्यक्तिहरूमा सामान्य नागरिकसहित कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरू पनि छन् ।
यसअघि भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदसँग सुडानबाट भारतीय नागरिकलाई बाहिर निकाल्न मद्दत मागेका थिए । यस सम्बन्धमा शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक पनि बोलाए ।
साउदी अरबको विदेश मन्त्रालयको विज्ञप्ति अनुसार सुडानबाट निकालिएकामा साउदी अरेबियाका ९१ नागरिक र सहयोगी तथा मित्र राष्ट्रका ६६ जना नागरिक रहेका छन् । मित्र राष्ट्रमा १२ देशका नागरिक छन् । यी देशहरूमा कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बंगलादेश, फिलिपिन्स, क्यानडा र बुर्किना फासो पर्छन् । साउदीले अब यी सबै व्यक्तिहरूलाई आ–आफ्नो देश फर्किनका लागि आवश्यक सबै सुविधा उपलब्ध गराउने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुडानबाट मानिसहरूलाई बाहिर निकाल्ने अभियान साउदी अरबको नौसेनाले गरेको थियो, जसमा विभिन्न सैन्य संगठनहरूले पनि सहयोग गरेका थिए ।’