तरकारी बेच्न परिचयपत्र अनिवार्य !

काठमाडाैँ । दाङ्गस्थित तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ।
स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनले भने- “अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ । त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, यसलाई ध्यानमा राखि परिचयपत्र लागू गरेका हौँ ।”
तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन् । किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन् । तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन । कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा नं १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ ।