जनवादी कलाकारद्वारा कम्युनिस्ट पार्टीहरुलाई एकजुट भएर अपुरो क्रान्तिलाई पुरा गर्न सुझाव

काठमाडौँ । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियानले आज प्रज्ञाभवन कमलादी, काठमाडौँमा बिशेष जनसाङ्गीतिक कार्यक्रम गर्दै टुटफुट भएका कम्युनिस्ट पार्टीहरुलाई एक भएर अपुरो क्रान्तिलाई पुरा गर्न नेताहरुलाई सुझाव दिएका छन । उक्त कार्यक्रममा जनवादी कलाकारहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानम प्रचण्ड , नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख कृणबहादुर महरा, नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत नेतालाई एउटै मन्चमा राखेर टुटफुट भएका कम्युनिस्ट पार्टीहरुलाई एक भएर अपुरो क्रान्तिलाई पुरा गर्न सुझाव दिएका थिए ।
उक्त कार्यक्रमको सुरुवात सन्देशमूलक गीत ‘आउ मिलाउँ हाम्रा हातहरु…’ बाट भएको थियो । सामूहिक प्रस्तुती रहेको यो गीतले सबै कम्युनिस्टहरुलाई एकतावद्ध भएर लाग्न सन्देश दिएको थियो ।

देशमा ७ दशकबढी लामो कम्युनिस्ट आन्दोलनको इतिहास र करिब दुईतिहाइ नजिक कम्युनिस्ट जनमत हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा पटकपटक सरकार निर्माण हुँदै आईरहेको तर कम्युनिस्ट विचार र राजनीति अनुसारका आर्थिक तथा सामाजिक कार्यक्रमहरु लागू हुन नसकीरहेको बेला कलाकारहरुले आफ्ना गित र सङ्गीतद्वारा अब सरकार र संसद भित्र प्रवेश गरेर मात्रै हुँदैन समाजवाद र साम्यवादका लागि बाटो तय गर्न कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प नरहेको प्रस्ट्याएका छन।

कम्युनिस्ट पार्टीको नाममा थुप्रै समुह र गुटहरु सरकार, संसद र सडकमा बिखण्डित अवस्थामा रहेको बेला यसरी कम्युनिस्ट आन्दोलनलाई फाइदा नहुने भन्दै जनवादी कलाकारहरुले जनयुद्धको समयमा ऐतिहासिक चुनवाङ बैठकमा कलाकार मोहित श्रेष्ठ र बिद्रोहीद्वारा गाईएको गित – ´टुटफुट र खण्डनको कुरा नगर, बरु वीरता , बिजय र एकताको कुरा गर `भन्दै नेपालका कम्युनिस्टहरुले बिगतको समिक्षा गर्नुपर्ने र नयाँ आधारमा नयाँ यात्रा तयगर्न समेत प्रेरित गरेका छन।
देशमा साम्राज्यवादी हस्तक्षेप निरन्तर बढ्दै गएर देश पराधिन बन्दै गएको र आर्थिक मन्दीको रूपमा संसदीय दलाल पुँजीवादी व्यवस्थाको संरचनागत संकट अभिव्यक्त भएको बेला कम्युनिस्ट पार्टीलाई एकता, विजय र सफल बनाउन अभिप्रेरित गर्ने उदेश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल , नेकपा महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , नेकपाका नेता आर बी भण्डारी , नेकपा मशालका नेता सन्तबहादुर नेपाली लगाएत कम्युनिस्ट पार्टी सम्बद्ध नेताकार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा जनबादी कलाकारहरु माधव प्रधान, उदय श्रेष्ठ , जीवन शर्मा, मणी थापा, चिरन सी, मोहित श्रेष्ठ , बिद्रोही, निलिमा पुन, रेश्मी पुन, सरस्वती महरा , अनु शर्मा, नारायण शर्मा, हिमशिखर लगाएतका कलाकारहरुले आ आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए भने नेकपा महासचिव विप्लव देखि झलनाथ खनाल सम्म जीवन शर्माको -उमेर भैसक्यो असी, झन ठुला दुखले घेरेको-भन्ने बोलको गीतमा छमछमी नाचेका थिए भने कार्यक्रमलाई वरिष्ठ जनवादी श्रस्ठा चिरन सीले औपचारिक रुपमा प्रारम्भ गरेका थिए।