आज जनआन्दोलन दिवस

२०७० चैत्र २४ गते, सोमबार


काठमाडौं ,२४ चैत। पञ्चायती व्यवस्थाविरुद्ध ०४६ साल चैत्र २४ गते राजधानीमा उर्लिएको आन्दोलनलाई स्मरण गर्दै प्रत्येक वर्ष आजको दिनलाई नेकपा-माओबादीले जनआन्दोलन दिवसका रुपमा मनाउने गरेको छ ।तत्कालीन ‘संयुक्त जनआन्दोलन संयोजन समिति’ले ०४६ साल चैत २४ गते काठमाडौंमा आन्दोलनको घोषणा गरेको थियो । सोही दिन आन्दोलनको जनसागर नारायणहिटी दरबारतर्फ अघि बढेको थियो । त्यसको तीन दिनपछि चैत २७ गते तत्कालीन राजा वीरेन्द्रले बाध्य भएर बहुदलीय व्यवस्था घोषणा गरेका थिए ।
तत्कालीन जनआन्दाेलन संयोजन समितिमा प्रचण्ड नेतृत्वको नेकपा मशाल, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन लगायतका साना दल आवद्ध थिए । यसको संयोजकमा डा. बाबुराम भट्टराई थिए ।
पञ्चायती व्यवस्था विरुद्ध भएको संघर्षमा कांग्रेस र सातवटा वामपन्थी दलहरुले सहकार्य गरेका थिए । कांग्रेससँग सहकार्य गरेको वामपन्थी मोर्चामा तत्कालीन नेकपा माले, नेकपा मार्क्सवादी र निर्मल लामा नेतृत्वको नेमपा (चौम) लगायतको सहभागिता थियो । प्रचण्ड, बाबुराम र मोहनविक्रमहरुले अलग्गै मोर्चा बनाएका थिए ।
नेपाली कांग्रेस र एमालेलगायतका दलहरुले भने चैत २४ लाई जनआन्दोलन दिवसका रुपमा मान्दैनन् । उनीहरुले बहुदल घोषणा भएको चैत २७ लाई मात्रै विशेष दिनका रुपमा मान्ने गरेका छन् । तर, मसाल, माओवादी र एमाओवादीले भने आजको दिनलाई विशेष दिनका रुपमा सम्झने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु