‘बैज्ञानिक समाजवादको विकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बैज्ञानिक समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन। नेकपा मध्य कर्णाली ब्यूरोले मनागबार सुर्खेतमा आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सी ले सो ठाेकुवा गरेका हुन्।
महासचिव विप्लव सीले अहिलेको संकटको निकास बैज्ञानिक समाजवाद भन्दा अन्य कुनै विकल्प नभएको उल्लेख गर्दै कतिपय मान्छेहरूले अहिलेको संकटको निकास व्यवस्था नभएर अवस्था भएको भनेर छरिरहेकाे भ्रम प्रति सचेत हुन आग्रह गरे । उनले अवस्था भन्दा पहिले व्यवस्था बदल्न जरुरी भएको उल्लेख गर्दै भने – “नेपाल संकट र अप्ठ्यारोमा छ । नेपालको निकास समाजवाद हाे । संकट व्यवस्थाकाे हाे । व्यवस्था फेर्ने अभियानमा लाग्नुपर्छ अनि अवस्था फेर्ने तिर जानुपर्छ ।”
महासचिव विप्लव सीले हालै तिन वटा कम्युनिस्ट पार्टी बीच भएको एकता कम्युनिस्ट आन्दोलनको नयाँ अध्याय भएको चर्चा गर्दै इमानदार, क्रान्तिकारी कम्युनिस्टहरू बैज्ञानिक समाजवाद ल्याउने उद्देश्य राखेर निशर्त रूपमा एक हुनुको विकल्प नभएको बताए । उनले साम्राज्यवादले कम्युनिस्ट सिध्याउने याेजना अनुसार आफ्ना नयाँ दलालहरू जन्माएर कम्युनिस्टका विरूद्व प्रयाेग गरिरहेकाे खुलासा गर्दै भने- “पछिल्लो स्वतन्त्र पार्टीको नाममा रवीकाे उदय, गगन थापाकाे खुल्लमखुल्ला साम्राज्यवादकाे चाकडी नेपालको लागि खतरनाक छ ।”

महासचिव विप्लव सीले साम्राज्यवादले रवीलाई नेपालमा अर्को जेलेन्स्की बनाउने सम्भावना समेत रहेको आशंका व्यक्त गर्दै भने -‘अहिलेको संकटको वास्तविक निकास नेपाल कम्युनिस्ट पार्टी र बैज्ञानिक समाजवाद मात्रै हुनसक्छ ।’
उक्त कार्यक्रममा महासचिव विप्लव सीले एकीकृत जनक्रान्तिकाे कार्यभार पुरा गर्न उत्पादनसँग जाेडिएकाे नेता, कार्यकर्ता र पार्टी बनाउनु पर्नेमा जाेड दिदै जनताका समस्या समाधान गर्ने र जनता सँग गहिरो सम्बन्ध जाेडिएकाे पार्टी बनाउन निर्देशनसमेत दिएका थिए ।