आजको मुख्य समस्या ः निराशा र विचलन

२०८० जेष्ठ २२ गते, सोमबार
बिष्णु पन्त

१. आजको मुख्य समस्या – निराशा र विचलन ः आजको नेपालमा ७० प्रतिशतभन्दा बढी जनमत वामपन्थी विचारधारामाथि विश्वास गर्दछन् । अर्काे सत्य के हो भने वाम आन्दोलनहरु निरन्तर पतन र विचलनका शिकार भए । हाम्रो आन्दोलन सधैँभरि संसदवादमा गएर अन्त्य भएका छन् । संसदीय व्यवस्थामा विचारको प्रश्न गौण र सत्ता वा सरकारको प्रश्न प्रधान हुँदोरहेछ । विचारधारात्मक हिसाबले न त कांग्रेस न त कम्युनिष्टको पृथक पहिचान छ । आज सबै शक्तिहरु तालमेल वा उस्तै–उस्तै भएका छन् । त्यसकारण आजको अवस्था निकै संकटपूर्ण र चुनौतिपूर्ण छ । विचारात्मक प्रश्न गौण बनेको छ जुन कम्युनिष्टहरुका लागि प्रत्युपादक बन्नसक्छ । पहिला एमालेको पतनबाट माओवादीको जन्म भयो र आज माओवादीको लज्जास्पद पतनले चरम निराशा उत्पन्न गरेको छ । माओवादी पार्टीहरुको पतन, विभाजन र भ्रष्टीकरणले नेपाली समाजमा ठूलो वितृष्णा उत्पन्न गरेको छ । संसदीय व्यवस्थाभित्रैबाट भएको एमाले र माकेबीचको एकताले केही आशा र उत्साह पलाएको थियो तर त्यो एकता धेरै समय टिक्न सकेन । एकतापछिको विभाजनले झनै ठूलो क्षति र नोक्सानी हुुँदोरहेछ । संसदीय व्यवस्थालाई अस्वीकार गर्ने शक्तिहरु पनि अस्तित्वमा छन् । संघर्षरत छन् । वैज्ञानिक समाजवाद वा नौलो जनवादका बहसहरु भएकै छन् । पछिल्लो समय केही सशस्त्र संघर्षका अभ्यासहरु पनि नभएका होइनन् । तर, ती पनि सफल हुन सकेन । वाम आन्दोलनमा लागि आजको अवस्था निकै चुनौतिपूर्ण र निराशाजनक अवस्था हो । आजको वास्तविक परिस्थिति हेरौन ः न त संसदीय व्यवस्थाभित्र उज्यालो छ न त संसद बाहिर नै उज्यालो छ । अब संसदभित्र राष्ट्रिय स्वतन्त्र पार्टीका उदय भएको छ र आगामी चुनावसम्म उसको लहर फैलिने सम्भावना छ । जम्माजम्मी रास्वपाले लगाएका पाँचवटा मुख्य नाराहरु हुन्– भ्रष्टाचारको अन्त्य, राजनीतिक स्थितरता, पारदर्शीता, संघीयताको खारेजी र कानुनी राज्य वा सुशासन । मेरो अध्ययनको निष्कर्ष छ ः रास्वपाको जन्म नेकपा विभाजनबाट भएको हो । यदि तत्कालीन सरकारी नेकपाको विभाजन नभएको भए रास्वपाको जन्म हुने थिएन । कार्यनीतिक हिसाबले हेर्ने हो भने चुनावदेखि चुनावसम्म जसरी हुन्छ संसददेखि सरकारसम्म एउटा कार्यनीति छ । अर्काे कार्यनीतिक बहिस्कार, विरोध र अविश्वसनीय आन्दोेलन । दुवै कार्यनीतिमा एउटै समानता छ, त्यो हो ः कार्यनीतिक स्थिरता, गोलचक्कर, दिशाहीनता र अकर्मण्यता । भनिन्छ कार्यनीति खोला जस्तै बग्नुपर्छ तर यहाँ पोखरीजस्तै स्थिरता छ । संसदवादी कम्युनिष्टहरुको दृष्टिकोण छ ः सरकारमा जान नसके सर्वश्व गुम्छ । उनीहरुको चेतले भन्छ ः सरकारमै जान नसके के राजनीति गर्नु । उनीहरुको अर्काे तर्क छ ः विचारले खान दिन्छ र ? संसद् बाहिरको तर्क छ ः संसदीय व्यवस्था बदल्नुपर्छ र वैज्ञानिक समाजवाद वा नौलो जनवाद स्थापना गर्नुपर्छ । उनीहरुको तर्क छ ः सत्ताबाहेक अरु सबै भ्रम हो । टुटफुट, विभाजन, संकीर्णता र प्रतिशोधले उनीहरुलाई पनि गाँजेको छ ।

२. निराशा र बिचलनको अन्त्य ः यो कुरा स्पष्ट छ कि अहिलेकै तरिकाले चल्ने हो भने पहिलो नम्बरमा माओवादीहरुको अस्तित्व गायब हुन्छ । संसदीय हिसाबले पश्चिम बंगाल बनाउने षड्यन्त्र सफल हुँदैछ । नेपाली जनताको अलि आफ्नै विशेषता छ, त्यो हो ः नयाँको खोजी गर्ने । निराशालाई हटाउने उनीहरुको आफ्नै प्रवृत्ति छ, त्यो हो एकता वा विद्रोहात्मक एकता । जनताले नयाँ–नयाँ र विद्रोही शक्ति खोजिरहन्छन् । त्यसकारण वामहरुको अस्तित्वलाई बचाउने वा पुनस्र्थापित गर्ने हो भने एउटै विकल्प छ, त्यो हो ः बृहत् वाम एकता र वैचारिक पुनर्जागरण । देशका मुख्य वा साझा समस्याहरुको बारेमा साझा निष्कर्ष निस्किनु पर्दछ । आजका मुख्य समस्याहरु हुन्– १. भ्रष्टाचार, २. राजनीतिक अस्थिरता, ३. परनिर्भर अर्थतन्त्र, ४. कानुनको शासन वा सुशासनको अभाव, ५. बेरोजगारी र ६. शिक्षा, स्वास्थ्य, रोजगारी अनि गाँस, बास, कपासको ज्ञारेन्टी नहुनु । यी आजका साझा राष्ट्रिय समस्याहरुको समाधानको खाकासहित वाम एकता वा धुव्रीकरण हुन सके त्यो नै नयाँ सम्भावनाको उत्तम विकल्प सावित हुनसक्छ । धेरै माओवादीहरु जो वैज्ञानिक समाजवादका लागि निष्ठापूर्वक लडेका थिए, उनीहरु वितृष्णा र डिप्रेसनको शिकार बनाइएका छन् । त्यसकारण विगतको निर्मम समीक्षा गर्दै नयाँ आधारमा नयाँ एकता आजको प्रमुख आवश्यकता हो । त्यसका लागि सबै शक्तिलाई समेट्ने गरी एउटा वाम सम्मेलनको आयोजना गर्न सकिन्छ । कम्तीमा सबै वाम, प्रगतिशील तथा राष्ट्रवादी शक्तिहरुबीच सहकार्य, सहअस्तित्व र एकता भावको निर्माण गर्नु आजको सही निकास हो । त्यसकारण मित्रतापूर्ण सम्बन्ध र एकताको बहसले मात्र नयाँ उत्साह पैदा गर्नसक्छ । आजको दिनमा सबै मिलेर संसदीय व्यवस्थाको अन्त्य गर्ने ठाउँमा जान सकिन्छ ।

३. नैतिकवान् नेतृत्वको खोजी ः आजको जनता पुरानो नेतृत्वप्रति असन्तुष्ट छ । पुरानाले केही गरेनन् र केही गर्दैनन् भन्ने आम बुझाई छ । कम्युनिष्ट पार्टीभित्र नैतिकवान् नेतृत्वहरुको खोजी र स्थापित गर्नु अपरिहार्य छ । भ्रष्टाचारमा डुबेका नेताहरु देखाएर अब जनविश्वास प्राप्त हुन सक्दैन । सत्ता वा सरकार र पार्टीलाई अलग–अलग ढंगले चलाउने गरी एकता गर्न सकिन्छ । पुराना नेताहरुलाई सत्ता वा सरकारको जिम्मा दिने र नयाँ नेताहरुलाई पार्टीको जिम्मा दिने गरी विश्वसनीय वातावरण सिर्जना गर्न सकिन्छ । वास्तवमा सबैलाई मिलाउन सक्ने नै नैतिकता बल विप्लवमा हुनसक्छ । यदि नैतिकवान्, इमान्दार र निष्ठावान् नेता र कार्यकर्तालाई एक ठाउँमा केन्द्रीकरण गर्न सके नेपालमा कम्युनिष्टहरुको सुनौलो भविष्य छ । नेपालका कम्युनिष्टहरुले विनाशकारी बाटो समाएका छन्, त्यो हो एकले अर्कोलाई सिध्याउने । हुनुपर्ने थियो ः एकले अर्कोलाई सहयोग गर्ने ।

एकातर्फ केपी ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, नारायणमान बिजुक्च्छे र चित्रबहादुर केसीबीचको एकता अनि अर्कोतर्फ विप्लव र किरणको एकता । सत्ता वा सरकारको जिम्मा ओली, प्रचण्ड र नेपालहरुले लिने अनि पार्टीको जिम्मा विप्लव, किरणहरुले लिने एउटा नयाँ आधार सिर्जना गर्न सकिन्छ । आजसम्मको सबैभन्दा ठूलो समस्या अहंकार हो । सबैका योगदानहरुको कदर र सम्मान हुने वातावरण बनाउन सकिँदैन र ?

४. उत्कृष्ट व्यवस्थापकको खोजी ः आजको युग भनेको व्यवस्थापनको युग हो । सम्पत्ति र सीप हामीसँगै छ तर, नेताहरु विदेशीहरुसँग भिख माग्दै हिँडेका छन् । हामी समाजवादी अर्थतन्त्रको बहसमा छौं तर, जीवन व्यवहारमा हामी चरम पुँजीवादी वा निजी चिन्तनबाट निर्देशित छौं । एउटा राम्रो वा व्यवस्थापकीय नमुना स्थापित हुन सकेको छैन । सरकारका अंगहरुभित्र हेरौं न बालेन शाह र हर्क साम्पाङ्गहरु पो लोकप्रिय होलान् जस्तो । बालेन शाहले प्रधानमन्त्रीलाई चुनौति देलान् जस्तो । काम गर्न चाहेमा केही न केही सुधार त सहजै हुन सक्दा रहेछन् नी देशका लागि प्रदेश, जिल्ला र नगर वा गाउँका लागि केही गरौं भन्ने चिन्तनको खडेरी छ । सबैको ध्यान आफ्ना लागि र आसेपासेका लागि भन्ने छ । चिन्तन र उसको व्यवहारबाट अभिव्यक्त हुन्छ नि । जब प्रधानमन्त्री र राष्ट्रपतिले आफ्ना परिवार, आफन्त र आसेपासे मात्र हेर्छन् भने प्रदेश, गाउँ र नगर प्रमुखले के गर्छन् होला ? पार्टीहरुमा त्यस्तै छ । नातावाद र कृपावादको जनताले विरोध गर्छन् । आमजनता र देशका लागि उभिने नेताले सर्वप्रथम परिवारको मोह वा आशक्तिबाट मुक्त हुनुपर्छ । आजको मुख्य चुनौति भनेकै नेता र कार्यकर्ताप्रतिको जनअविश्वासको हो । जनताको विश्वास जित्नका लागि पनि नेताहरुले केही त्याग गर्नुपर्ने अवस्था छ । पुराना नेताहरुले केही पनि त्याग गर्न नसकेको हुनाले स्वतन्त्रहरुको बाढी आएको हो । एमाले, नेकां र माकेले संस्थागत रुपमा केही नमुना गाउँ र नगरको अवधारणा पनि दिन नसक्नु बिडम्बना होइन र ? भक्तपुरमा नेमकिपाको नमुना विकासको मोडेल छ तर, त्यसको चर्चा भएको छैन । अन्य दलहरुले त्यस्तो नमुना नै पेश गर्न सकेका छैनन् । त्यसकारण आजको मुख्य चुनौति व्यवस्थापन र निष्पक्षताको हो । पारदर्शीता र पद्धतिमा आधारित संगठनात्मक प्रणालीको हो । अधिकार र जिम्मेवारीको संयोजन मुख्य सबाल हो । व्यवस्थापकीय क्षमता र विश्वसनीयता अबको सफल नेतृत्वका लागि अपरिहार्य तत्व हुन् । जनतालाई वा उनीहरुको भावनालाई फुटाएर होइन एकताबद्ध गरेर मात्र देशले असल नेता प्राप्त गर्न सक्छ । आज सिंगापुरमा भएको त्यही हो । एकता र विश्वासबाट चमत्कारिक परिणाम निस्किन्छ ।

५. नेकपाको सामूहिक उत्पादन प्रणाली ः समाजवादी वा सामूहिक अर्थ प्रणालीको ठूलो अविश्वास र संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेकपाका महासचिव विप्लवका केही सामूहिक अभ्यास र अभियानहरु उदाहरणीय छन् । सामूहिक खेती वा उत्पादन, सामूहिक बसाई, कम्युनको अवधारणाको विकास, पार्टी कार्यालयको निर्माण, अस्पताल र विश्वविद्यालयको निर्माण गर्ने अवधारणा सकारात्मक छन् । विप्लवका अभियानहरु थप उचाइमा व्यवस्थित हुन सकेमा त्यसले एउटा नयाँ सन्देश र ऊर्जा प्रदान गर्न सक्छ । अबको जनताले जीवन व्यवहार हेर्दछन्, भाषण र घोषणापत्र होइन । आजसम्मका हाम्रा व्यवहारहरुले माओवादलाई बदनामित गरियो कम्युनिष्ट र विचारधारालाई समेत अविश्सनीय बनाइयो । अब व्यवहारबाट मात्र जनताको मन जित्न सकिन्छ । आज विप्लवका सकारात्मक अभियान र पहलहरुको चर्चा भएको छैन । सामूहिक वा समाजवादी अभियानका लागि यसको अध्ययन र चर्चा हुन जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु