पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन माग

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्रको पार्किङ शुल्क घटाउन उद्योग वाणिज्य संघले माग गरेको छ । संघका अध्यक्ष पवन कुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार भेटेर पार्किङ शुल्क घटाउन माग गरेको हो ।
पोखराकै पुरानो विमानस्थल भन्दा झन्डै २१ गुणा महँगो शुल्क लिएको भन्दै उद्योग वाणिज्य संघले यस्तो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको छ ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्नेमा संघले जोड दिएको छ । राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्नेमा पनि संघले जोड दिएको छ ।