लामखुट्टे र पोसमले मासु खाने रोग फैलायो !

२०८० असार ३० गते, शनिबार


काठमाडौं । वैज्ञानिकहरूले लामखुट्टे र पोसम (अष्ट्रेलियामा पाइने न्याउरीजस्तो जनावर) ले मासु खाने ब्याक्टेरिया फैलाएको बताएका छन्। उनीहरुले मासु खाने रोग अर्थात बुरुली अल्सर मानिसमा मात्र नभएर पोसममा पनि हुने बताएका छन् । साइन्स न्युजका अनुसार बुरुली अल्सर माइकोब्याक्टेरियम अल्सरन्स नामक ब्याक्टेरियाबाट हुन्छ । पोसममा सङ्क्रमण भएपछि यी ब्याक्टेरिया तिनीहरूको दिसाबाट बाहिर निस्किन्छन्। अर्कोतिर फोहोरमा फस्टाउने लामखुट्टे छन् । त्यसैले वैज्ञानिकहरू विश्वास गर्छन् कि लामखुट्टे र पोसमले यो मासु खाने ब्याक्टेरिया सजिलै फैलाउन सक्छ। वैज्ञानिकहरूले लामखुट्टे, पोसम र मानिसको डीएनए अध्ययन गर्दै, दक्षिण-पूर्वी अष्ट्रेलियामा लामखुट्टेमा सर्वेक्षण गरेका थिए। यसले मासु खाने ब्याक्टेरिया र लामखुट्टे बीचको सम्बन्धलाई फेला पार्यो । यसपछि अनुसन्धान सुरु भयो । अध्ययनले लामखुट्टे, पोसम र मानिसमा माइकोब्याक्टेरियम अल्सेरान्स नामक ब्याक्टेरिया हुने गरेको पाइएको छ । अनुसन्धानमा ब्याक्टेरियाको डीएनए पनि एउटै भएको खुलासा भएको छ ।
मेलबर्नको मोर्निङटन पेनिनसुलाबाट ७२ हजार लामखुट्टे समातेका थिए। यस क्षेत्रबाट बुरुली अल्सरका धेरै केसहरू रिपोर्ट गरिएका छन्। यो रोग लागेका १८ हजार मानिसमा पनि अध्ययन गरिएको थियो । ती सबैलाई एडिस नोटोस्क्रिप्टस जातको लामखुट्टेले टोकेको अध्ययनमा देखिएको छ । वैज्ञानिकहरूका अनुसार पोसमलाई पनि यस प्रजातिको लामखुट्टेले टोकेको थियो।
अष्ट्रेलियामा हरेक वर्ष २००-३०० बुरुली अल्सरका घटनाहरू रिपोर्ट हुन्छन् । २०१४ मा ६५ घटनाहरू रिपोर्ट गरिएको थियो। सन् २०१९ मा २९९ र २०२० मा २१८ केसहरू थिए। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अनुसार २०२२ मा ११ देशहरूमा बुरुली अल्सरका २१०० घटनाहरू रिपोर्ट गरिएको थियो। बैज्ञानिकहरुका अनुसार बुरुली अल्सरको लक्षण देखिन २ देखि ९ महिना लाग्न सक्छ । यसको उपचारका लागि विशेष एन्टिबायोटिक, स्टेरोइड दिइन्छ। तिनीहरूको खुराक केही हप्ताको लागि दिइन्छ। आवश्यक पर्दा केही महिनासम्म औषधि पनि दिइन्छ । यो रोग तीव्र गतिमा फैलिने कारणले गर्दा शरीरका अंगहरू पनि काट्नु पर्ने हुन्छ।
विश्व स्वास्थ्य संगठनले मासु खाने रोग बुरुली अल्सरलाई उपेक्षित रोगको श्रेणीमा राखेको छ। अर्थात् यो रोगलाई बेवास्ता गरिएको छ । बुरुली अल्सर पहिलो पटक १८९७ मा रिपोर्ट गरिएको थियो। त्यसबेला युगान्डाका धेरै गरिब मानिसहरू यो रोगका कारण मरे। यो रोग पहिलो पटक सन् १९४८ मा अस्ट्रेलियामा देखिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]