४१ औं बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । आज ४१ औं बीपी स्मृति दिवस , प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भातृ संस्था र बीपी संग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्दैछ । बीपी स्मृति दिवसका अवसरमा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
बीपीले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पर्याएका छन । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’,‘मोदी आइन’,‘हिटलर र यहुदी’,‘सुम्निमा’,‘नरेन्द्रदाई’,एवं ‘बाबु, आमा र छोरा’ गरी चर्चित ६ उपन्यास प्रकाशित छन् ।
यसैगरी २ कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’,हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।