प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इटाली पुगेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान स्वदेश फर्किएका छन्। उनी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए भने आज भ्रमण सम्पन्न गरी दोहा हुँदै काठमाडौं फर्किएका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड ‘फुड सिस्टम समिट’लाई सम्बोधन गरेका थिए। त्यस्तै रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गरेका थिए। त्यस्तै दहालले विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए। रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए।
भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए।
प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषि तथा पशुपन्धी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायतको सहभागिता रहेको थियो ।