चिनियाँ जहाज काठमाडौं आइपुग्दै
काठमाडौं, १४ बैशाख। नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याउन लागेको जहाज आज काठमाडौँ आइपुग्दैछन् ।चीनमा निर्मित सो जहाज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने छ । चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको सो जहाजमा ५६ सिट रहेको छ । मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको सो जहाज आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको निगमका प्रवक्ता रामहरि शर्माले बताए।चीन सरकारले आन्तरिक उडानका लागि पाँच जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन लेटर’ दिन ढिलाइ गरेका कारण पछिल्लो दिनमा आशङ्का बढे पनि शुक्रबार निगमले सो पत्र प्राप्त गरेको थियो तर प्राधिकरणले सो जहाजलाई उडान अनुमति भने दिएको छैन ।प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले सो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए ।निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याउन लागेको हो । गत फागुन ४ मा निगमसँग रहेको टि्वनअटर जहाज दुर्घटना भएपछि एउटा मात्रै जहाजबाट आन्तरिक उडान गर्दै आएको थियो । निगमको साख धानेको अर्को सोही ढाँचाको जहाजसमेत गत चैतमा समस्या उत्पन्न भएपछि निगम जहाजविहीन बन्न पुगेको थियो ।