भोलि विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द !

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै भोलि भदौ १६ गते बिहान १० बजेदेखि बेलुका ६:३० बजेसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणका अनुसार टेकू तथा K3 सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा शनिबार बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म विद्युत सेवा प्रभावित हुने छ ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू – स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको प्राधिकरणले जनाएको छ। प्रथम चरण अन्तर्गत टेकू सबस्टेसनमा १ थान १३२ / ११ के.भी., ४५ एम. भी. ए. ट्रान्सफरमर चार्ज गर्न पूर्व स्युचाटार सवस्टेसनमा ६६ के.भी. K3 वे को Conductor Bypass गरी पुरानै स्विचगियर मार्फत चार्ज गर्न स्युचाटार – K3 ६६ के.भी. प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकोले उल्लेखित स्थानमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारू गरिने प्रष्ट पारेको छ।