आज अक्षय तृतीया

२०७१ बैशाख १९ गते, शुक्रबार

काठमाडौ, १९ बैशाख । आज सातु र सर्वत दान गरी अक्षय तृतीया मनाइँदैछ । वैशाखशुक्ल तृतीयाका दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।सत्ययुगको प्रारम्भ पनि यसै दिनबाट भएको मानिन्छ । विवाहका लागि लगन तथा साइत हेर्नु नपर्ने मान्यता र शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै नुहाएर पूजासामान तयार पारी सङ्कल्प गरेर दियो, कलश र गणेशलाई पुजी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा विष्णु र पुरोहितको सोह्र सामग्रीद्वारा पूजा गरी शुद्ध जल तामा वा माटाका भाँडामा राखी त्यसमा लाग्ने गरी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बत बनाएर त्यो घडा र गुलियो लगाएको जौको सातु दान गर्ने चलन रहेको संस्कृतिबिद मधुसुदन सुवेदी बताउनुहुन्छ ।
आज बूढाबूढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्रलाई दान दिने चलन छ । वैशाखजस्तो गर्मी महिनाको आजको दिन स्नान, भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्बत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण हुन्छ । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । जमदग्नि ऋषि र उनकी पत्नी रेणुकाबाट उत्पन्न अष्टचिरञ्जीवीमध्येका एक परशुराम धनुर्विद्यामा पारङ्गत थिए ।
उनले रक्षक भएर पनि भक्षक बनेका अत्याचारी क्षत्रीयका एक्काइस कुललाई एक्काइस पटक धरतीमा घुमी बन्चराले काटेर मारेका थिए । ‘परशु’ अर्थात् बञ्चरो बोक्ने र त्यही बञ्चरोमा आनन्द मान्ने हुनाले उनलाई परशुराम भनिएको हो । आजका दिन चोखो भएर व्रत लिई परशुरामको पूजाआराधना गर्ने र उनको कथा सुन्ने परम्परा पनि छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु