लिबियामा समुद्री आँधी र बाढी : ५ हजारभन्दा बढीको मृत्यु !

काठमाडौँ । आँधीसँगै आएको बाढीले पुराना दुई बाँध भत्किएपछि लिवियाको डेर्ना शहर अस्तव्यस्त बनेको छ। हजारौँ भवन भग्नावशेषमा परिणत भएका छन् । शहरको आधा भाग पानीमा डुबेको छ। बाढीले शहर नै डुबाएपछि मानिस घरभित्रै थुनिएका छन् । बाढीमा बगिरहेका शवको समेत व्यवस्थापन गर्न नसकेएको स्वास्थ्यमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ‘ड्यानियल’ नामको आँधीपछि आएको बाढीमा परी हजारौं व्यक्ति बेपत्ता भएका छन् ।
बाढीले तटबन्ध भत्किँदा धेरै सहरमा क्षति पुर्याएको छ । बाढीले समुद्री तटको डेर्ना सहर सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् । सोमबार आएको आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो, जसका कारण लाखौं क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो ।
भीषण बाढीका कारण उद्धार टोलीले शव फेला पार्न सकेको छैन । लिबियाको पूर्वी सरकारका स्वास्थ्य मन्त्री ओस्मान अब्दुल जलीलले अवस्था नाजुक रहेको बताए ।
डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिसको मृत्यु भएको अधिकारीहरूले अनुमान गरेका छन् । रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १० हजार मानिस बेपत्ता भएको बताए । २० हजारभन्दा बढी व्यक्ति विस्थापित भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी