विश्वमा प्रेस स्वतन्त्रताको अवस्था दशककै नाजुक
काठमाडौं ।विश्वमा प्रेस स्वतन्त्रताको अवस्था एक दशक यताकै सबैभन्दा नाजुक रहेको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको फ्रिडम हाउसले सार्वजनिक गरेको प्रेस स्वतन्त्रता २०१४ प्रतिवेदनका अनुसार इजिप्ट, टर्की, युक्रेनजस्ता मुलुकमा देखिएको राजनीतिक संकटसँगै विश्वको प्रेस स्वतन्त्रताको अवस्था पछिल्लो समय खस्कँदो रहेको छ ।
अध्ययनका अनुसार सन् २०१३ मा विश्वका १४ प्रतिशत जनसंख्या मात्रै प्रेस स्वतन्त्रता भएको क्षेत्रमा रहेका छन् । अर्थात् विश्वका ७ मध्ये १ व्यक्तिले मात्रै प्रेस स्वतन्त्रताको अनुभुति गर्न पाएका छन् । यस्तै ४२ प्रतिशत जनसंख्या केही मात्रामा प्रेस स्वतन्त्रता भएका र ४४ प्रतिशत जनसंख्या प्रेस स्वतन्त्रता नभएका क्षेत्रमा रहेका छन् ।
अध्ययनका परियोजना निर्देशक करिन कारलेकरलका अनुसार विश्वमै प्रेस स्वतन्त्रताको अवस्था खस्कँदो छ । गएको वर्ष विश्वका धेरै क्षेत्रका राष्ट्रमा सरकार तथा नीजि क्षेत्रबाट पत्रकारमाथि आक्रमण, समाचार संकलनमा अवरोध, लेख तथा समाचारलाई सेन्सर गर्ने र राजनीतिक दबाब दिने जस्ता काम उल्लेख्य वृद्धि भएको पनि उहाँले बताउनुभयो ।
यस्तै विशेष गरी नयाँ प्रविधिको प्रयोग गरी अनलाइन समाचार काटछाँट गर्ने र निगरानी बढाउने काम पनि बढेका भन्दै अध्ययनकर्ताले चिन्ता व्यक्त गरेका छन् । प्रेस स्वतन्त्रताको राम्रो अवस्था भएको मुलुकको अग्रपंक्तिमा नेदरल्याण्ड, नर्वे र स्वीडेन रहेका छन् भने सबैभन्दा दयनीय अवस्था भने उत्तर कोरियामा रहेको छ ।यस्तै क्युवा, इरान, बेलारुस, तुर्केमिनिस्तान, उज्वेकस्थान लगायतका राष्ट्रमा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको अध्ययनमा उल्लेख छ ।