खोइ ,हाम्रो एकता, सद्भाव र ,सहिष्णुता – छत्र मैनाली
इतिहासमा २०६४ साल चैत्र २८ लाइ महत्वपुर्ण दिनको रुपमा लिने गरिन्छ। २००७ साल देखि मुलुकमा संबिधानसभाको निर्वाचन बारे बिबिध पक्षले आवाज उठाउदै आए पनि ०६४ साल चैत्र २८ गतेका दिन साकार बन्न पुगेको छ। पहिलो संबिधानसभाको चुनाव मार्फत मुलुकको समग्र समस्यालाई एक मुष्ठ सम्बोधन हुन्छ भन्नेमा आम नागरिक निश्चिन्त थिए। नेपालको बिकाश नहुनुमा सामन्तबाद हावी रहेको हौवा पिटाइयो। साञ्चिक्कै हो कि भन्ठानेर दलका नाइकेले जे भने जनता पछि पछि लागेर सहयोग गरे। तर आज उप्रान्त यसको औचित्य पुष्टि गर्न सकेका छैनन्। बिशेष गरेर एकीकृत नेकपा माओबादी ,नेपाली कांग्रेस,नेकपा एमाले ,र मधेशबादी दल ले औचित्य पुष्टि गरेर नेपाली जनतालाई बुझाउनु पर्दछ। झुठको राजनीति धेरै दिन टिक्न सक्दैन भन्ने पछिल्लो समयमा आएर प्रमाणित हुँदै गएको छ। पहिलो संबिधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका ६०१ जनाको हुलले ०६९ साल जेष्ठ १४ गते संबिधान सभाको हत्या गरेर राजनीतिक झुठको पर्दा खोल्ने काम गरेका थिए । त्यो हत्या जानाजानी आफ्नै घुंडामा बन्चरो प्रहार गरेर गरेका थिए । संबिधानसभाको चुनावलाइ मूल मुद्दा बनाएर आफ्नो नक्कली प्राण ठानेका हरुले हत्या गर्न कुनै हिच्किचाहट मानेनन। देशी बिदेशी अराष्ट्रिय तत्वहरु को सल्बलाहट र तिनको निर्देशनमा आज्ञाकारी पात्र बन्न पुगेको परिणाम थियो संबिधानसभाको हत्या । तिनका खेलौना बनेर नाच्दाको परिणाम सायद अहिले आएर बिस्मत मान्दै होलान। संबिधान सभाको हत्यामा संलग्न मतियार हरुले कदापी पश्चाताप महसुस गरेनन। एकले अर्कालाई दोष थोपरेर वास्तविक बिषय बाट सर्लक्कै पन्छिन पुगे। मुलुकमा एक किसिमले संबैधानिक संकट उत्पन्न भए पनि स्थिति भयावह हुन बाट मुलुक जोगियो। त्यसबखत नेपाली कांग्रेस लगायतका पार्टीहरुले ताजा जनादेशका निम्ति चुनाबमा जानु बाहेकको विकल्प नरहेको धारणा अघि सारेका थिए। नेकपा -माओबादी पार्टी लगायतका अन्य दलहरु सर्वदलीय गोलमेच सम्मेलन गरेर मुलुकलाई निकाश दिनु पर्दछ भन्दै आएका थिए। तर परिश्थितिले यस्तो मोड लियो कि इतिहासमा नगरिएको राजनीतिक अभ्यास गर्न ४ दल हतोत्साही बने। सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधिश खिलराज रेग्मी समक्ष बिन्ति भाउ चढाएर तिनको पाउमा लम्पसार पर्दै मुलुकको कार्यकारिणी प्रमुखको कुर्सीमा विराजमान भै दिनु पर्यो भनेर बिन्ति टक्र्याए। प्रतीत्युरमा खिलराज रेग्मीले तिनका बिन्तिभाऊ लाइ मनन गर्दै कार्यकारिणी प्रमुख बन्न राजी भए। मिति २०६९ साल चैत्र १ गते मुलुकमा गैर दलीय व्यक्तिको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भयो। खिलराज रेग्मी सरकारमा जानासाथ संबैधानिक निकायमा पदाधिकारी परिपूर्ति गर्ने काम तदारुकताका साथ थालनी गरेर सरकारको तदारुकता देखाए।
बिशेष गरेर ४ राजनीतिक दलहरुको साझा प्रयासमा सम्पन्न उक्त अभ्यास प्रजातान्त्रिक मूल्य र मान्यता,शक्ति पृथकीकरण को सिधान्तलाई सिधै उपहास गर्ने किसिमको थियो। तिनले जे चाहे त्यो लागु गर्नुलाई नै प्रजातन्त्र भन्ने गलत ब्याख्या गरे। खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व सुम्पिनुमा गम्भीर रहश्य छ ,किनभने पटक पटक म्याद थपेर राष्ट्रको ढुकुटी सखाप बनाउने काम बाहेक उल्लेख्य उपलब्धि हासिल गर्न नसके पछि २०६९ साल जेष्ठ १४ गते विधिवत रुपमा संबिधानसभाको हत्या गर्नेहरुले सहज ढंगबाट सत्ताको चावी गैरदलीय व्यक्तिलाई सुम्पेकोमा भ्रममा नपर्दा हुन्छ। तत् पश्चात उत्पन्न राजनीतिक जटिलता एवं संबिधानसभा हत्याको अपजस आइ परेको हुँदा नेपाली राजनीतिक मैदानमा कसरि सुरक्षित अवतरण गर्न सकिन्छ ?भन्ने अभिप्रायको पराकाष्ठा थियो खिलराज रेग्मी नेतृत्वको सरकार स्विकार्नु। त्यति गरे पछि मूल बिषय ओझेलमा पर्ने र नेपाली जनताले तुरुन्तै साथ् छाड्दैनन भन्ने भावनात्मक सोचको उपजलाई प्रयोगमा ल्याएका थिए। त्यो काम फलामको चिउरा चपाउनु सरह थियो लोकतन्त्रका ठेकेदार हुँ भन्ने हरुलाई।तर त्यो चिउरा चपाउनु को साटो सग्लै निलेर पचाइदिए।हैन भने कुन नैतिकताको आधारमा गैर दलिय व्यक्तिलाई सत्ताको चावी बुझाउन मन्जुर भए त ? यदि त्यस्तो नैतिकता हुन्थ्यो भने मुलुकमा कति घटना घटेका छन् खै त सिंहदरबार आगलागी हुँदाको बखत तत्कालिन प्रधानमन्त्री किर्तिनिधि बिष्टले नैतिकताको आधारमा दिएको राजिनामा बाहेक आज उप्रान्त अन्य समान दर्जाले नैतिकताको आधारमा राजिनामा दिएको ,पद छाडेको सुनिएको छैन। तसर्थ खिलराज रेग्मीलाई सत्ताको साँचो त्यो पनि कोटी कोटी नमन गरेर सुम्पिनुमा अरु गम्भीर रहश्य हुन सक्छ। सबैले खोतल्ने प्रयास गर्न जरुरि छ।
खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी सरकारले आफ्नो जिम्मेवारीलाइ समय भित्रै पुरा गरेर मिति २०७० साल माघ २८ गतेका दिन विधिवत रुपमा सत्ता छाडेर गए । खिलराज रेग्मीको बहिर्गमन संगसंगै दोस्रो संबिधानसभाको प्रमुख दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेपालको ३७ औ प्रधानमन्त्रिको रुपमा आगमन भए। सरकार गठन भएको झन्डै ४ महिना हुन लागेको छ। निर्वाचित जनप्रतिनिधिको सरकार बन्ना साथ् राजनीतिक बिकृति सतहमा आउन शुरु भएको छ। करिब १ बर्ष गैर दलीय व्यक्तिको नेतृत्वमा राजनीतिक विकृतिले अलिकति भने पनि मुलुकले आराम पाएको थियो। ,तर निर्वाचित सरकार बने संग संगै ति विकृतिले पुनर्जीवन पाएको छ। बिशेष गरेर नेपाली कांग्रेसले राजनीतिक आवरणमा स्थापित नाताबाद,कृपाबादले पुनर्जिवन प्राप्त गर्दैछ भने सत्ता साझेदारी नेकपा एमालेका केहि शिर्षस्थ हरु बाट आफ्नो हैकमबादी चरित्र प्रष्फुटन गर्न थालेका छन्। जुन घटना सतहमा आइ सकेको छ। जनतालाई शान्ति,सुशासन स्थापना बारे घोक्रो सुक्ने गरि कराए पनि तिनका असलियत ब्यबहारमा देखिने हुँदा व्यवहारको मुल्यांकन गर्नुनै उत्तम हुनेछ। अहिले प्राय सबै दलहरु आन्तरिक समस्यामा अल्झिएका छन् तिनले आफ्नै दलभित्र सन्तुलन कायम गर्न सकेका छैनन्। पार्टी फुट्ने हो कि भन्ने चिन्ता नेतृत्व बर्गलाई पर्न गएको छ । दलभित्र नेतृत्वको व्यवहार लाइ लिएर असन्तोष ब्यक्त गर्नेहरुको पंक्ति ठुलो छ। प्राय सबै दलभित्र कसैलाई काखा कसैलाई पाखा लगाउने रणनीतिले गर्दा नै पार्टी भित्र असन्तुलन पैदा भएको तर्फ नेतृत्वले बेलैमा विचार नपुर्याउने हो भने भिर बाट लड्ने गोरुलाई राम राम बाहेक के नै भन्न सकिन्छ र। गुट उपगुटको राजनीति गर्नु लाइ नै प्रजातन्त्र ठान्नेहरु बाट मुलुकले के नै बढी अपेक्षा गर्न सक्दछ ? शक्ति पृथकीकरणको सिधान्त जस्तै दलहरुमा पनि शक्ति बाँडफांडको बिषयलाइ लिएर बहस हुँदै आएको छ। एकै व्यक्तिले एक भन्दा बढी पद ओगट्न नहुने ,नया पुस्तालाई नेतृत्व छाड्नु पर्ने आदि माग उठेका छन्। तर यो बिषयमा नेतृत्व बर्गले सुन्न त के कसै बाट उच्चारण नभई दिए हुन्थ्यो भन्ने अपेक्षा गरि रहन्छन। अनि कहाँ बाट युवा पुस्ताको माग पुरा हुन्छ ? अब कुरो रह्यो वर्तमान संबिधानसभा ले जारी गर्ने संबिधान बारे।
मुलुकमा बिध्यमान राजनीतिक समस्याको एक मात्र स्थायी समाधान भनेको राजनीतिक दल लगायत समाजका सबै पक्ष बीच मेलमिलाप सहितको राष्ट्रिय एकता नै हो। राजनीतिक दल र समाजका सबै पक्ष बीच राष्ट्रिय एकता कायम हुन नसकेमा समस्या जहाको त्यहि रहनेछ। तसर्थ वर्तमान संबिधानसभाको मूल दायित्व भनेको समाजका सबै तह तप्कालाई समेटेर राष्ट्रिय एकता घोषणा गर्दै नयाँ संबिधान कोर्नु पर्दछ।सदियौं देखि बहुभाषी ,बहुधर्म,बहुजाति हरुको मिश्रणमा निर्माण भएको समाजमा हामी बस्दै आएका छौं। एक आपसमा भाइचारा ,सहिष्णुता सहितको उच्च मानवीय भावनाले ओतपोत भएको समाजमा जातीयताको कुरो उचालेर एकापसमा फुट ल्याउने काम राजनीतिले गरेको छ। यो बिषय सोचनीय छ। २१औ सताब्दिको युगमा जातीयताको नाममा राजनीति गर्नु कति मुर्खता हो र कति बुध्धिमतापूर्ण हो समग्रमा अध्यन हुनु पर्दछ। नेपालको भौगोलिक विकटता ,भूराजनैतिक महत्व आदिलाई हामीले केन्द्रबिन्दुमा राखेर बहस गर्न सकेको भए बिकाशका ढोका खुलिसकने थिए। तर यहाँ एकताबद्ध भएर बसेको समाजमा फुट ल्याएर जातीय द्वन्दमा मुलुकलाई होम्न उध्दत भएर बस्ने हरुदेखी साबधान हुन जरुरि छ।
विश्वका हरेक नागरिकको पहिलो परिचय राष्ट्रियता ,धर्म ,संस्कृति आदि लाइ आधार मान्ने गरिन्छ। त्यसपछि क्रमसः सामाजिक,आर्थिक ,राजनीतिक परिचय जोडिने गर्दछ। पृथ्बीको जुनसुकै कुनामा जन्म लिए पनी उसलाई आफ्नो जन्म भुमि भन्दा प्यारो अन्य कुनै पनी भुमि हुन सक्दैन। जन्मेको भुमि , बाल्यकालको शैशव काल बितेका हुनाले त्यो भुमि प्राण भन्दा प्यारो हुने गर्दछ।
मैले यो प्रसंग उल्लेख गर्नुको कारण आफु जन्मेको भुमि संसारको जुनसुकै कुनामा पुगे पनी जन्मभुमि भन्दा सुन्दर अरु कुनै भुमि नलाग्ने रहेछ। यो मेरो व्यक्तिगत अनुभव हो तसर्थ हामी जुन समाजमा हुर्केर यो अवस्थामा आइपुग्न सफल भयौं यसको श्रेय भनेको हिजो जन्मे हुर्केको समाजलाई नै जान्छ। हाम्रो समाज बास्तबमै नमुना समाज हो हाम्रो एकता, सद्भाव ,सहिष्णुताको बयान गरेर साध्य छैन तर पछिल्लो समयमा हाम्रो समाज बिपरित धारतर्फ उन्मुख हुँदै गएको छ बेलैमा हामी सचेत नहुने हो भने स्थिति भयावय हुनेमा दुइमत छैन।
कुनै पनी मुलुक सवल र सक्षम हुनका निम्ति समाजका हरेक पक्ष तल्लो तह देखीनै मजबुद हुनु जरुरि छ। तब मात्र राष्ट्र सवल बन्न सक्दछ हाम्रो समाज र देशको कुरा गर्ने हो भने इतिहासको पानामा धेरै पछाडी पर्दै गएका छौं समयले नेटो काटेको काटेकै छ तर हामी भने जहाको त्यही छौं। मैले यो समाज र मुलुकलाई चिन्न सिके देखि २४ बर्ष को समय खेर गएको देखेको छु। २०४६ सालमा ठुलो उमंगका साथ प्रजातन्त्रको स्थापना भएको थियो समय क्रम संगै २०५६ साल सम्म आइपुग्दा बैधानिक तवरले निर्वाचन भएको थियो। तत् पश्चात आज सम्म स्थानीय स्तरमा जन प्रतिनिधि छनौट गर्न बाट बन्चित छ। ०६२ -६३ को आन्दोलनले नयाँ सासन व्यबस्थाको स्थापना गरे पनी मूल बिषय बाट अझै बाहिर नै छ के यहि हो प्रजातन्त्र ? २४ बर्षको समय ठुलो समय हो। पाठक बर्गलाई मनमा लाग्न सक्छ बिषय बस्तु नपाएर गल्ति मात्र देख्ने त्यसैलाई बिषय बनाएर लेख्ने भन्ने तर मैले उठान गरेका बिषय बस्तु ध्रुव सत्य हुन् वास्तविक बिषय बस्तुको उठान गरेको छु मुलुकमा अराजकताले सिमा नाघी सकेको छ । त्यो अराजकता विभिन्न राजनीतिक पार्टीहरुले थापेका दोकानको ब्यबस्थापनकप कमि कमजोरी हो भन्ने मैले बुझेको छु।