आज विश्व प्रेस स्वतन्त्रता दिवस

२०७१ बैशाख २० गते, शनिबार


काठमाडौ, २० बैशाख । आज मे ३ , विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।यसैबिच नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।“संविधानसामार्फत् एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान” भन्ने नारासहित हुन लागेको यो महाधिवेशनले महासङ्घको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि प्रेस चौतारीका डा. महेन्द्र विष्ट र प्रेस युनियनका पोषण केसी नेतृत्वको प्यानल चुनावी मैदानमा छन् ।
चुनावी प्रतिस्पर्धामा चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ, र क्रान्तिकारी पत्रकार महासङ्घबीच तालमेल भएको छ भने प्रेस युनियन एक्लै चुनावमा उत्रिएको छ । विष्ट र केसी दुवैजना महासङ्घका पूर्व महासचिव हुन ।
यसैबीच महाधिवेशनमा समावेशी विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने भएको छ । संशोधन प्रस्तावमा उपाध्यक्ष र सचिवमा समावेशी पदहरु सिर्जना गरिएका छन् । त्यसैगरी संशोधन प्रस्तावमा महासंघको आर्थिक सुशासन र पारदर्शिता अभिवृद्धि गर्न एक लेखासमितिको पनि प्रस्ताव गरिएको छ ।
महसङ्घले महाधिवेशनकै अवसर पारेर नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा उल्लेख्य योगदान दिए वापत १० जना पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान दिने भएको छ । त्यस्तै निरन्तर ३० वर्षदेखि पत्रकारितामा क्रियाशिल ६५ वर्ष उमेर पुगेका अग्रजप त्रकारहरुका लागि ‘वरिष्ठ पत्रकार सम्मानवृत्ति’ प्रदान गर्ने कार्यक्रम पनि तय भएको छ । यसैगरी महासङ्घले यस वर्षको उमा सिंह पत्रकािरता पुरस्कार पत्रकार सरिता दाहाललाई दिने निर्णय गरेको छ ।
महासंघको २४ औ महाधिवेशनमा देशभरका १६ सय ५१ सभासद्हरुले भाग लिँदै छन् । महाधिवेशन बिहान ९ बजे काठडमाडौंको प्रज्ञाभवनमा प्रधानमन्त्री सुशिल कोइरालाले उद्घाटन गरेका छन् । त्यसअघि केहीबेर अघि भृकुटीमण्डपबाट प्रभातफेरी निकालिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु