अफगानिस्तानमा पहिरोमा परेर २ हजार बढीको मृत्यु
काठमाडौ,२१ बैशाख, अफगानिस्तान । अफगानिस्तानको बदख्सान प्रान्तको अब बारिक गाउँमा गएको पहिरोमा परी मारिनेको सङ्ख्या दुर्इ हजार भन्दा बढी पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार सो पहिरोमा परी मारिएका तीन सयको शव प्राप्त गरिएको अधिकारीहरुले जनाएका छन् । शनिबारका लागि त्यसमा परी पुरिएका व्यक्तिको उद्वारको काम बन्द गरिएको पनि उनीहरुले जनाएका छन् ।
उद्वारको काम आइतबार बिहानैबाट सुरु गरिने र शनिबार साँझसम्ममा ३ सयको शव निकालिएको अफगानिस्तानका उद्वारकर्ताहरुले जनाएका छन् ।
बदख्सानका गभर्नर साह वालिउल्लाह अबिबले यसअघि दुई हजार ५ सय व्यक्ति हराइरहेको भनिएको भएपनि त्यति धेरैको हताहति नभएको पाइएको जानकारी शनिबार दिए ।
उनले भने- सो पहिरोमा उक्त गाउका ३ सय घर पुरिएका छन् र ती घरपरिवारको लगत नै प्राप्त भएको छ । त्यसैले पहिरोमा परी मारिने पाँच सयभन्दा केही मात्र बढी हुनसक्छन् ।
पहिरोले बदख्सान प्रान्तको उक्त गाउँलाई पुरिदिएको छ र स्थानीय व्यक्तिहरूले पहिरोले पुरेका व्यक्ति खोज्न सावेल लगायतका परम्परागत साधनहरुको प्रयोग गरेको बताइएको छ ।
संयुक्त राष्ट्र सङ्घले ३ सय ५० व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रान्तीय अधिकारीहरूले घटना भएको २० घण्टापछि पनि दुई हजार भन्दा बढी व्यक्ति अझै हराइरहेको जानकारी दिएका थिए ।
शुक्रबार प्रार्थनाको समयमा गाउँलेहरू दुई मस्जिदमा भेला भएको र उनीहरूलाई पहिरोले पुरेको बताइएको छ । बदख्सान ताजिकिस्तान, चीन तथा पाकिस्तानको सीमामा पर्छ ।
राष्ट्रपति हमिद करजईले पहिरोबाट प्रभावितप्रति समवेदना व्यक्त गर्दै जीवित व्यक्तिलाई खोज्न तत्काल प्रयास भएका बताए । रासस/एएफपी