संसदवादी शान्ति सम्झौता तोड्दै छन्, : विप्लव

२०७१ बैशाख २५ गते, बिहीबार


काठमाडौं। नेकपा-माओवादी गुल्मीको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसदवादीहरुले धेरै पेले फेरि युद्धमा जाने चेतावनी दिएका छन् । ‘संसदवादी शान्ति सम्झौता तोड्दै छन्, उनीहरु माओवादीलाई पेलेरै अघि जान खोज्दैछन्’, सचिव विप्लवले भने, ‘यस्तै गरिरहे दुवै माओवादी मिलेर युद्धमा जान बाध्य हुनेछौं ।’उनले बृस्तृत शान्ति सम्झौताप्रति संसदवादी दलहरुलाई गम्भीर हुन आग्राह गर्दै भने, ‘यदि माओवादीलाई छाडेर मुलुक चलाउन खोजियो भने आत्मसमर्पण गरेर बस्दैनौं ।’
ठूलो पार्टी भएकाले कांगे्रसलाई गम्भीर हुन आग्राह गर्दै चन्दले प्रधानमन्त्री सुशील कोइराला जिम्मेवार भएर अघि बढे नेपालको राजनीतिक परिस्थिति सहज हुने बताए । ‘हामीलाई तह लाउन खोजिएको हो भने कुनै हालतमा झुक्दैनौ’, सचिव विप्लवले भने, ‘बरु लडाइँ हुन्छ, त्यो बेला तानाशाहहरु घोडाबाट झर्ने छन् अनि किसान मजदुर सत्तामा पुग्ने छन् ।’कांग्रेसले आफूलाई लोकतान्त्रवादी भएको दाबी गरेपनि सहमतिको पालना नगरेको विप्लवको भनाइ छ । ‘माओवादीलाई पेलेर, एक्ल्याएर ठीक पार्न सकिन्छ भन्ने सोचिएको भए त्यो नेपालमा सम्भव छैन्, द्धन्द्ध चर्कन्छ ।’
यसअघि एकीकृत माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रामकरुपमा प्रस्तुत हुने सचिव चन्दले बुधबारको मन्तव्यमा भने प्रचण्ड आफूलाई मनपर्ने नेता भएको बताए । ‘प्रचण्डजी तपाइँ हामीलाई मन पर्ने नेता हुन्’, विप्लवले भने, ‘उहाँमा बैचारिक विचलन आएर सच्याउन खोज्दा पार्टी फुटाउन परेको हो, यदि प्रचण्ड र बाबुरामजीहरु सच्चिए पार्टी एकता हुन्छ र हुनु पनि पर्छ ।’
महासचिव रामबहादुर थापा र आफूबीच विवाद चलेको कुरा निराधार रहेको सचिव विप्लवको भनाइ छ । ‘बादलजी र मवीच झगडा भएको जुन हल्ला चलेको छ, त्यसमा कुनै तुक छैन, हामीवीच वहस भएको हो, त्यसो हुन जरुरी पनि छ’, उनले भने, ‘हाम्रो पार्टीमा एउटा समूह फेरि बन्दुक बोकेर लड्ने र अर्को समूह नजाने, त्यो सम्भव छैन ।’
विप्लवले एकीकृत माओवादीसँगमात्र नभई अन्य सबै कम्युनिष्टसँग पनि एकता हुनुपर्ने बताए । ‘हामी आफैं मिलेका छैनौं, म र बादलजीको हल्ला, एमालेमा केपी ओली र झलनाथ खनालको द्धन्द्ध, एमाओवादीमा प्रचण्ड वावुरामको नाटक बन्द हुनुपर्छ’, उनले भने ‘यस्तो हुनुहुँदैन अब नेपालमा एउटै कम्युनिष्ट पार्टी हुनुपर्छ ।’
सचिव विप्लवले भने – जनयुद्धका बेला गिरिजाप्रसाद कोइरालाको चिठी बोकेर जाने एमाले नेताहरुसँग गरिएको पाँच वुँदे सम्झौताको बवेवास्ता गरिएकाले अहिलेको अस्थिरता र संकट निम्तेको बताए । ‘दिल्लीमा गरिएको १२ वुँदे सम्झौताको कुरा गरिन्छ’, उनले भने, ‘रोल्पामा एमाले नेताहरुसँग गरिएको पाँच वुँदे सहमतिको कुरै गरिन्न, अहिलेको अस्थीरता र संकटको मुख्य कारण त्यही हो ।’
सम्झौतामा राजतन्त्र विरुद्ध सवै राजनैतिक दलहरु एकजुट हुने, माओवादीले उठाएका मुद्धाहरुलाई सम्वोधन गर्ने, जनताका आधारभूत आवश्यकता पुरा गर्ने, उत्पीडीत समुदायको अधिकार सुनिश्चित गर्ने लगायत पाँचवुँदे सहमति भएको जनाउँदै विप्लबले ती सहमति कुल्चँदै संसदवादी दलले माओवादीलाई पेलेर जान खोजेको आरोप लगाए ।
‘यसो गर्नु भनेको माओवादीलाई फेरि द्धन्द्धमा पठाउन खोज्नु हो, यदि संसदवादीहरुले यही चाहेका हुन् भने द्धन्द्धमा जानु हाम्रो बाध्यता हुनेछ’ सचिव विप्लवले भने ।
संविधानसभाबाट संविधान निर्माणको प्रयोग विफल भएकोले आफूहरुले गोलमेच सम्मेलनबाट संविधान बनाउन चाहेको बताए । नेताहरुलाई मात्र गणतन्त्र आएको बताउँदै सचिव विप्लवले जनतालाई गणतन्त्रको अनुभुति दिलाउने गरी आˆनो पार्टी संर्घषमा उत्रेको दाबि गरे ।

प्रतिक्रियाहरु

[anycomment]