घरजग्गा मेला सुरुहुदै
काठमाडौ,२५ वैशाख । राजधानीको भृकुटीमण्डपमा आजदेखि घरजग्गा मेला सुरु हुँदैछ । एनएलएचडीएको आयोजनामा हुने सो मेला २८ गतेसम्म चल्नेछ । घर/अपार्टमेन्ट खरिद गर्ने वा आफैं निर्माण गर्न चाहनेलाई लक्षित गरेर यो मेला आयोजना गरिएको हो ।मेलामा २५ हाउजिङ कम्पनी सहभागी हुँदै छन् । यी बाहेक सिमेन्ट, डन्डी, रंग, फर्निचर, बैंक, वास्तु लगायतको स्टल पनि रहनेछ । आयोजकका अनुसार मेलामा हाउजिङका घर/अपार्टमेन्ट खरिद गर्दा आवश्यक पर्ने सबै विषयमा जानकारी दिन ‘प्रोपर्टी क्लिनिक’ राखिएको छ । क्लिनिकमा वकिल, आर्किटेक्ट, वास्तु, सिभिल इन्जिनियरिङ लगायतबारे परामर्श उपलब्ध हुनेछ ।
मेलाबाट हरेक दिन ‘प्रोपर्टी टुर’ को पनि व्यवस्था गरिएको छ । यसबाट निर्माण भैरहेका परियोजनाको अवस्था ग्राहक आफैंले हेर्न पाउनेछन् । मेला स्थलबाट ग्राहकलाई यस्ता ठाउँको निशुल्क भ्रमण गराइनेछ ।दिउसोको समय पायक नपर्ने अवलोकनकर्तालाई पनि मेलामा विशेष व्यवस्था गरिएको छ । पहिलो पटक ‘कर्पोरेट आवर’ भनेर मेला अवधीमा समय थपिएको छ । यस्तो अवधीमा निमन्त्रणबाट बोलाइएका ग्राहकले भ्रमण गर्न सक्नेछन् । यस्ता अवलोकनकर्ताले बेलुकी ६ देखि ८ बजेसम्म मेला हेर्न सक्नेछन् ।
मेला अवलोकनका लागि ५० रुपैयाँको टिकट खरिद गर्नुपर्ने आयोजकले जनाएका छन् । मेलाकै अवसर पारेर विभिन्न कम्पनीले छुट र उपहार योजना पनि सार्वजनिक गर्ने तयारी गरेका छन् । फुडकोर्ट समेत राखिएको मेलामा निःशुल्क वाइफाईको व्यवस्था रहने आयोजकले जनाएका छन् । जग्गा तथा आवास विकास संघले बर्सेनि घरजग्गा मेलाको आयोजना गर्दै आएको छ ।