अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत

२०८० कार्तिक ३० गते, बिहीबार


काठमाडौँ । अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत भएका छन् । अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिचको शिखर वार्तापछि दुई देश सैन्य सम्पर्क पुर्नस्थापना गर्न राजी भएका हुन् । साथै उनीहरु ‘फेन्टानिल’ नामक औषधिको उत्पादन रोक्ने कदम चाल्न पनि सहमत भएका छन् ।
चिनिया राष्ट्रपति सिसँग चार घण्टा लामो शिखर वार्तापछि पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले आफुहरु ‘प्रत्यक्ष, खुला र स्पष्ट’ सञ्चारमा फर्किएको बताए ।
बाइडेनले सीसँगको वार्ता अहिलेसम्मकै रचनात्मक र फलदायी छलफलहरू मध्येको एक भएको बताए । तर उनले चिनियाँ राष्ट्रपतिलाई तानाशाह मान्ने आफ्नो अघिल्लो टिप्पणीमा भने फेरबदल नभएको प्रतिक्रिया दिए ।
वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिले आफ्नो देशलाई दबाउने वा नियन्त्रण गर्ने कुनै योजना नबनाउन अमेरिकालाई आग्रह गरेको बताए ।
उनले ताइवानलाई हतियार आपुर्ती बन्द गर्न तथा ताइवानसँग चीनको शान्तिपूर्ण एकिकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह समेत गरे । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]