वर्तमान राजनीतिक संकटको समाधान वैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान राजनीतिक संकटको समाधान वैज्ञानिक समाजवाद भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले बुधवार माल्कोटमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले देशको समस्या समाधानको अन्तिम विकल्प वैज्ञानिक समाजवाद मात्र भएको बताएका हुन । उनले नेपाली जनताको मुख्य दुश्मन साम्राज्यवाद र दलाल संसदीय पूँजीवादी व्यवस्थाा भएको जिकिर गर्दै देशमा देखिएका तमाम समस्याहरु यसकै उपज भएको बताए ।

प्रवक्ता प्रकाण्ड सी ले दलाल पूँजीवादले समस्याको समाधान दिन नसक्ने ठोकुवा गर्दै नेपालमा समाजवादी व्यवस्था स्थापनाका लागि समाजवादी मोर्चा बनेको बताए । उनले नेपाली विशेषताको समाजवाद हुदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना नै अहिलेको समस्याको अन्तिम निकासको विकल्प भएको ठोकुवा गर्दै भने – “बैज्ञानिक समाजवाद स्थापना गर्ने बाटोमा सबै कम्युनिष्टहरु एक हुनुपर्छ । अहिलेको तत्कालिन समस्याको समाधान दिन नेपाली विशेषताको समाजवाद चाहिन्छ । क्रान्तिकारी,देशभक्त,प्रगतिशील शक्ति एकजुट भएर नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ ।” \

प्रवक्ता प्रकाण्ड सी ले जनयुद्ध राजतन्त्रको अन्त्य गरी समाजवाद ल्याउने उद्देश्यले भएको भन्दै केही प्रतिक्रान्तिकारी प्रतिगामी शक्तिहरुले फेरी राजतन्त्र फर्काउने कुरा गर्नु असम्भव भएको बताए । उनले सबै अग्रगामी शक्तिहरुले समयमा नसोच्ने हो भने देश गम्भीर संकटमा जाने र देश विदेशीहरुको रणमैदान हुने बताए । उनले नेकपाको काँधमा अहिलेको संकटको निकास दिने मुख्य जिम्मेवारी आएको भन्दै त्यसको लागि सबै नेता कार्यकर्ताहरु तयार हुन निर्देशन दिए ।
प्रवक्ता प्रकाण्ड सी ले संसदवादी भित्रका र समाजवादी मोर्चा भित्रका दलहरु यदि समाजवादमा जान डराउने अवस्था भए समाजवाद र दलाल पूँजीवादका वारे जनतालाई फैसला गर्न दिनु पर्ने बताए । उनले त्यसका लागि जनमतसंग्रह गरिनु पर्ने विचार राखे । प्रवक्ता प्रकाण्ड सी ले समाजवादमा जान पनि तयार नहुने,जनमतसंग्रह गर्न पनि तयार नहुने अवस्था आए नेकपाले कुनै पनि हालतमा क्रान्तिको नेतृत्व गर्ने र नेपालमा वैज्ञानिक समाजवाद ल्याउने विश्वास दिलाए ।
प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी,नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सी,अर्जुन सी,कमल सी, विश्वास सी,ललित सी,समग्र सी लगायतको आतिथ्यता रहेको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलमान सीको अध्यक्षता, रमेश सीको स्वागत मन्तव्यमा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी साहासी सीले गरेका थिए ।