इजरायल र हमासबिचको युद्धविराम सम्झौता समाप्त

काठमाडौँ । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आज यो सम्झौता टुंगिएको हो । सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो। इजरायली सेनाले एक्समा लेख्यो- “हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो।” यो युद्धविराम अगाडि बढ्ने आशा थियो।
अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेको छैन । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ ।
यसैबीच, इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा गाजाका केही बासिन्दा आफ्नो घर फर्केका छन् । तर भग्नावशेष मात्र भेटिएका छन् । गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन् । युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भएपनि युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ ।
इजरायलविरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलापछि दुई पक्षहरूले गत हप्ता चार दिनका लागि युद्धविराम गरेका थिए । इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ । इजरायलले हमासको आक्रमणमा करिव १२ सय व्यक्तिको मृत्यु भएको र २ सयभन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ ।